ललितपुरलाई देशकै सबैभन्दा सफा शहर बनाउन चाहन्छौं : मेयर महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताएका छन् ।मंगलबार महानगरको स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम भइरहेको पनि बताए ।‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला,’ मेयर महर्जनले भने ।
ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताउँदै उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।‘तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ,’ मेयर महर्जनले भने, ‘त्यहाँ काम भइरहेको छ । दायाँबायाँका घरधनीहरू मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन ।’उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाइओभर र एकान्तकुनामा अन्डर पास बनाउन जरुरी रहेको पनि बताए ।
Facebook Comment