कर्मचारीभित्र राजनीतिक दलका ट्रेड युनियन खारेज गर्नुपर्छ : सांसद गौतम

 निजामती कर्मचारीभित्र राजनीतिक दलहरूपिच्छे ट्रेड युनियन खारेज गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रस्ताव गरेकी छन् ।प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ताको रुपमा छलफलमा सहभागी सांसद गौतमले सबै राजनीतिक दलहरू कर्मचारी तन्त्रमा दलीय ट्रेड युनियन नराख्ने विषयमा सहमति गर्नुपर्ने आग्रह गरिन् ।कर्मचारीतन्त्रमा एकमात्र आधिकारित ट्रेड युनियन राख्नुपर्नेमा सबै राजनीतिक दल र सांसदहरू एकमत हुनुपर्ने सांसद गौतमको प्रस्ताव थियो । उनले कर्मचारीले राजनीति गर्दा राजनीतिक दलका नेताहरूले के गर्ने भन्ने प्रश्न उठ्ने पनि बताइन् । ‘दलीय ट्रेड युनियन नराख्ने सवालमा सबै सांसदहरू एकमत हुन आवश्यक छ । कर्मचारी र राजनीतिज्ञको काम फरक छ । राजनीतिज्ञको काम कर्मचारीले गर्ने हो भने अवस्था के हुन्छ,’ सांसद गौतमले भनिन् ।

कांग्रेसका कतिपय सांसदहरूले कर्मचारीतन्त्रमा ट्रेड युनियन राख्न पाउने व्यवस्था निजामती विधेयकमा राख्नुपर्ने प्रस्ताव गरेपछि सांसद गौतमको उक्त प्रस्ताव आएको हो । कर्मचारीतन्त्रमा राजनीतिक घुसाउँदा समस्या आउने हालको अभ्यासबाट देखिएको उनको भनाइ थियो । ‘कर्मचारीतन्त्रमा राजनीति घुसाउँदा बिगार्छ भन्ने अहिलेसम्मको अभ्यासले देखिसक्यो, एउटा राष्ट्रिय ट्रेड युनियनको व्यवस्था राख्नुपर्छ तर दलीय ट्रेड युनियनलाई प्रश्रय नदिउँ । एउटा साझा ट्रेड युनियन बनाउनुपर्छ,’ उनले भनिन् ।

सांसद गौतमले निजामती सेवामा एकपटक मात्रै आरक्षणको सुविधा दिने कानुनी व्यवस्था गर्नुपर्ने बताएकी छन् । एकपटक आरक्षणको सुविधा उपभोग गरिसकेपछि पनि बारम्बार सोही सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था गर्न नहुने उनको भनाइ थियो ।त्यस्तै, निजामती सेवामा प्रवेशको उमेर घटाउने विधेयकमा गरिएको प्रस्ताव सही नभएको सांसद गौतमको भनाइ थियो । ‘निजामती सेवा प्रवेशको उमेर झन-झन घटाउने प्रावधान आएको छ । अहिले पुरुषको ३२ र महिलाको ३७ वर्ष आएको छ । यसो सोच्दाखेरि यो किन यसरी उमेरदहद घटाउने तिर लाग्यौं ? यो कसरी प्रस्ताव भयो जवाफ चाहिन्छ,’ उनले भनिन्, ‘औसत आयु ६० वर्ष हुँदा ४० वर्ष छ तर अहिले रिटायर्ड हुने उमेर बढाउने तर प्रवेश हुने उमेर किन घटाउने ? अझ बढाएर व्यवस्था गर्दा केही फरक पर्दैन । सेवा प्रवेशमा महिलाको हकमा ४२ वर्ष र पुरुषको हकमा ३७ वर्ष गरौं ।’

कर्मचारी सेवा निवृत हुने उमेर ६२ वर्ष गर्नुपर्ने पनि सांसद गौतमको प्रस्ताव छ । प्रवेशको उमेर बढाउँदा पीएचडी गरेका र अन्य क्षेत्रको अनुभव हासिल गरेकाहरूले पनि सेवा दिन सक्ने उनले बताइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *