चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही

चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन निकुञ्जले अभियान सञ्चालन गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिविना बँदेल पाल्ने दुई, विनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस–दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र विनाअनुमति निकुञ्ज प्रवेश गरी निहुरो टिप्ने आठजनालाई निकुञ्जले पक्राउ गरेको हो ।

निकुञ्जभित्र प्रवेश गर्ने तथा नियमविपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले जानकारी दिए । यसबिचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबिच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाइ छ । 

पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुईवटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिए । गत मंसिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भंगालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको ध्रुव पोष्टनजिक करिब ३५ वर्षको पोथी गैँडा कालगतिले मरेको अवस्थामा फेला परेको उनले बताए । कालगतिले मरेका दुवै गैँडा कालगतिको खाग र खुर सुरक्षित रहेको उनको भनाइ छ ।

त्यस्तै, मंसिर १६ गते अमल टारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा ६ वर्षीय बाघ मृतावस्थामा भेटिएको उनले जानकारी दिए । अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यस अवधिमा गैँडाको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

कात्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा जिल्ला नवलपुरको कावासोती– ७ का ६५ वर्षीय चुनबहादुर बोटे र मंसिर ८ गते नवलपुरकै मध्यविन्दु- ६ का ६५ वर्षीय नाथुराम महतोलाई खेतबारीमा आलु लगाउने क्रममा गैँडाले आक्रमण गर्दा मृत्यु भएको उनले जानकारी दिए । निकुञ्जले वन्यजन्तु संरक्षण अभियानअन्तर्गत समुदायसँग सहकार्य गरी काम गरिरहेको भन्दै जाडो महिनामा अझै व्यवस्थित रूपमा अभियान चलाउने उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *