हप्तामा २ फिल्म रिलिज गर्न दिनेबारे प्रदर्शक र निर्माताले थाले छलफल

एक सातामा दुईवटा मात्र नेपाली फिल्म प्रदर्शन गर्ने दिनेबारे प्रदर्शक संस्था चलचित्र संघ र निर्माता संघबीच सैद्वान्तिक सहमति जुटेको छ । यी दुई संस्थाका कार्यदलले मंगलबार छलफल गरेका छन् ।

सातामा दुई फिल्म मात्र चलाउन दिनेबारे छलफल चलेको निर्माता संघका तर्फबाट कार्यदल सभापति उदय सुब्बाले बताए । आउँदो साता बस्ने बैठकले हप्तामा दुईटा फिल्मलाई मात्र कसरी चलाउन दिने भन्नेबारे कार्यरुपलाई टुंगो लगाउने उनले जानकारी दिए ।‘हप्तामै २ भन्दा बढी फिल्म आउँदा निर्माता र हलवाला दुबैलाई घाटा हुने देखियो । यसलाई समाधान गर्नेबारेमा अबदेखि हप्तामा २ वटा मात्र रिलिज गर्नेबारे छलफल चलिरहेको छ । आउने साता यसबारे टुंगो लाग्छ’ सुब्बाले भने, ‘तर, हामीले यसलाई क्यू सिस्टमको रुपमा मात्र बुझ्नुभएन ।’

सेन्सर भएको मितिको आधारमा फिल्मलाई रिलिज अनुमति दिने तयारी छ । यदि यो सहमति जुट्यो भने, फिल्म निर्माण नहुँदै मितिलाई अकुपाइड गर्ने प्रवृत्ति रोकिने आशा यी दुई कार्यदलको छ । ‘पहिले सेन्सर हुनुपर्‍यो अनि यो मितिको आधारमा मात्र रिलिज गर्न दिने मोटामोटी कुरा छ’ सुब्बाले भने ।यदि सहमति जुटेमा यो निर्णय दुबै संस्थाका सदस्यको हकमा लागू हुने सुब्बाको भनाइ छ । दुबै संस्थाका सदस्यको हकमा के त ? सुब्बा भन्छन्, ‘यस्तो परिस्थितीमा आफ्नो हलमा कुन फिल्म लगाउने वा नलगाउने कुरा चलचित्र संघको निर्णयको कुरा हो ।’

कार्यदलबीच यसअघि जुटिसकेको सातामा २ फिल्म रिलिज गर्ने सहमतिलाई कार्यान्वयन गर्नेबारे आफूहरु कटिबद्ध भएको समेत सुब्बाले बताए । यो निर्णय भएमा अहिले रिलिज घोषणा गरिसकेका धेरै फिल्मले प्रदर्शन मिति स्थगित गर्नुपर्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *