वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द

 

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरकि उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । ‘सञ्चालनमा रहेका दुईवटा ट्वीनअटरमध्ये एउटै यसअघि नै ग्राउन्डेड अवस्थामा रहेको र अर्को जहाजको पनि इन्जिनको उडान आवर सकिएका कारण आन्तरिक उडान अस्तिबाट बन्द भएको छ,’ पौडेलले अनलाइनखबरसँग भने ।

इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको दाबी उनले गरे । ‘त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ । ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता थियो । तर, त्यसको म्याद सकिए पनि डेलिभरी दिएको छैन,’ उनले भने ।आफूसँग भएको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यो सफल हुन नसकेको उनले बताए ।नेपाल एअरलायन्सले दुईवटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती पाउने छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *