नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्ति एकताबद्ध हुनुपर्छः प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्ने उनको भनाइ छ ।आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा प्रचण्डले जारी गरेको सन्देशमा लेखिएको छ, ‘माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा माओको जन्म भएको थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टी र नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेता हुन् । उनलाई संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनको प्रेरणाको स्रोतको रुपमा समेत लिने गरिन्छ ।माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचारलाई नेपालका कम्युनिष्ट पार्टीहरुले मार्गदर्शकको रुपमा लिने गर्दछन् ।यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूत रुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको जनाएका छन् ।

विगतमा सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो भन्दै प्रचण्डले आज पनि त्यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको उल्लेख गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *