विराट कोहली अस्ट्रेलियन ब्याटरसँग ठोक्किएपछि विवाद

 

भारत र अस्ट्रेलियाबीच बिहीबार मेलबर्नमा सुरू भएको बक्सिङ डे टेस्टको पहिलो दिन विराट कोहली र साम कन्स्टास विवादमा उत्रिएका छन्। बोर्डर–गावस्कर ट्रफीअन्तर्गत बिहीबार सुरु भएको चौथो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि युवा ब्याटर साम कन्स्टासले डेब्यू गरे। १९ वर्षीय कन्स्टास खेलको सुरुदेखि नै भारतीय बलरमाथि हावी देखिएका थिए। उनले विशेषगरी भारतका स्टार बलर जसप्रित बुमराहलाई निशाना बनाएका थिए। यद्यपी खेलको १०औं ओभर सकिए लगत्तै कन्स्टास र भारतीय ब्याटर कोहली भनाभनमा उत्रिएपछि सामाजिक सञ्जाल तातेको छ।भारतका लागि मोहम्मद सिराजले १० औं ओभर बलिङ गरेका थिए। यो ओभरपछि कन्स्टास आफ्ना ओपनिङ पार्टनर उस्मान ख्वाजातर्फ अघि बढेका थिए। यसैबीच कोहली हातमा बल लिएर कन्स्टास आउँदै गरेको दिशामा अगाडि बढेका थिए। यसपछि कोहलीको काँध कन्स्टाससँग ठोक्कियो। त्यसपछि कन्स्टास निकै रिसाए र कोहलीलाई केही कुरा भने।

जवाफमा कोहलीले पनि कन्स्टासलाई केही भने। त्यसपछि उस्मान ख्वाजा हस्तक्षेप गर्न आए। पछि अम्पायर पनि दुई खेलाडीको बीचमा आएका थिए। कोहली र कन्स्टासबीचको टक्करलाई लिएर सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आइरहेका छन्।कोहली कन्स्टाससँग अनजानमा ठोक्किए वा नियतवश गरे भन्ने बहस चलिरहेको छ।केही पूर्वक्रिकेटरले कोहलीको यो व्यवहारको आलोचना गरेका छन्। अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले विराट कोहलीको गल्तीमा कुनै शंका नभएको बताएका छन्। भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीको यस्तो व्यवहारलाई अनावश्यक भनेका छन्।साम कन्स्टास आफैं विराट कोहलीका फ्यान हुन् र उनी उनको मनपर्ने क्रिकेटर हुन्।

आइसिसीको आचार संहिता अनुसार क्रिकेटमा कुनै पनि किसिमको अनुपयुक्त ‘शारीरिक टकराव’ प्रतिबन्धित छ। खेलाडीले जानाजानी वा लापरवाहीका कारण कुनै खेलाडी वा अम्पायरसँग ठोक्किएमा त्यसलाई आचारसंहिता उल्लङ्घन मानिनेछ ।यदि म्याच रेफ्रीले यसलाई लेभल–२ को अपराध मानेमा खेलाडीलाई तीनदेखि चार अंकको जरिवाना गर्न सकिन्छ, यसलाई ’डिमेरिट अंक’ भनिन्छ। कोहलीलाई लेभल–२ को कराबाही भए उनलाई सिड्नीमा हुने अर्को टेस्ट खेल्न प्रतिबन्ध लाग्न सक्छ। यदि म्याच रेफ्रीले यसलाई लेभल–१ को अपराध मानेमा पनि जरिवाना हुन सक्छ।विराट कोहलीसँगको टक्करपछि कन्स्टास निकै क्रोधित देखिन्थे। अर्को ओभरमा उनले जसप्रित बुमराहलाई छक्का र दुई चौका प्रहार गरे। खेलको ११ औं ओभरमा कन्स्टासले १८ रन बनाएका थिए ।आफ्नो डेब्यू टेस्टमै कन्स्टासले मात्र ५२ बलमा अर्धशतक पूरा गरेका थिए। उनी खेलको २० औं ओभरमा ६० रन बनाएर आउट भएका थिए। रविन्द्र जडेजाले उनको विकेट लिए। कन्स्टासले ६५ बलमा ६० रनको बनाउदा ६ चौका र २ छक्का प्रहार गरेका थिए।पाँच टेस्टको सिरिजमा दुवै टोलीले एक–एक टेस्ट जितेका छन् भने एक टेस्ट बराबरीमा सकिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *