मदिरा खाएर श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ
धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार मुखियाले श्रीमती रेशमीको हत्या गरी शौचालयको पछाडि गाडेका थिए । बुधवार राति मुखियाले बुहारीसँग खाना मागेका थिए । उनको बोली र हर्कत शङ्कास्पद लागेपछि उनकै बुहारीले प्रहरीलाई बोलाइन् ।
प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रीमतीलाई मारेको र शव गाडेको बयान दिएका थिए । उनको बयानको आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलीले राति नै शव उत्खनन गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ । ईप्रका सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनु साहले घरायसी विवादपछि मुखियाले मदिरा खाएर श्रीमतीको हत्या गरेको जानकारी दिए । उनले विवाद किन भएको कुरा खुल्न नसकेको र थप अनुसन्धान भइरहेको बताए ।
Facebook Comment