के भिम रावललाई एमालेले अन्याय नै गरेको हो त?

 

काठमाडौँः नेकपा (एमाले)को सचिवालय बैठकले भिम रावललाई पार्टीबाट निष्कासनको कारबाही गरेको छ । पटक–पटक पार्टी अनुशासन विपरितका गतिविध र क्रियाकलाप गर्दै आएको निष्कर्षसहित एमालले रावललाई संगठित सदस्यबाट नै हटाएको हो ।

यही सन्दर्भमा एउटा पुरानो घटना स्मरणीय छ– २०६५ सालमा एमालेको आठौं महाधिवेशन चलिरहेको थियो । उक्त महाधिवेशनमा केपी शर्मा ओलीको प्यानलमा भिम रावल उपाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । तर निर्वाचनमा रावल विजयी हुन सक्नुभएन । यो घटनाको एउटा रोचक पक्ष के भने, रावल त्योबेला सुरूदेखि नै केपी शर्मा ओलीको प्यानलमा हुनुहुन्नथ्यो । उहाँ झलनाथ खनालको प्यालनमा हुनुहुन्नथ्यो । तर, खनालले केन्द्रीय सदस्य मात्र दिने, पदाधिकारी नदिने भनेपछि रावलले निर्वाचनको मुखैमा प्यानल परिवर्तन गर्नुभयो । आठौं महाधिवेशनमा पराजित भएपछि भिम रावल केन्द्रीय सदस्यको सपथग्रहणसमेत अस्वीकार गरेर हिँड्नुभयो । पछि माधव नेपालको सरकारमा गृहमन्त्री बनाउने निर्णय भएपछि मात्र रावलले केन्द्रीय सदस्यको सपथ लिनुभयो । त्यो पनि मन्त्री पदको सपथ लिनु ठिक अघिल्लो दिन ।

प्रस्तुत घटनाबाट भिम रावलको व्यक्तिगत राजनीतिक स्वाभाव प्रष्ट देखिन्छ । उहाँको स्वभाव हो– साना राजनीतिक घटनामा तरंगित हुने, धैर्यता गुमाउने र आफूले भनेको नभएपछि नपाएपछि जे पनि गर्ने ।

शक्तिशाली कम्युनिस्ट सरकार र भिम रावल
२०७५ जेठमा नेपालका दुईवटा कम्युनिस्ट पार्टीबीच एकीकरण भयो । एकीकृत पार्टीको नाम राखियो– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । त्यस बखत केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार बनेको थियो । तर, नेकपामा आफूले चाहेको पद नपाएकै कारण भिम रावलले पुनः धैर्यता गुमाउनुभयो ।

पार्टीले निर्माण गरेको बहुमत र सरकारको नेतृत्वमा हुनुहुनथ्यो– केपी शर्मा ओली । जनताबाट प्राप्त विश्वासको जगमा तत्कालीन लोकप्रिय सरकार सञ्चालन भएको थियो । साथै सरकारले जनताको समृद्धिका सपना पूरा गर्ने कामलाई तीव्रता दिँदै थियो । राष्ट्र बलियो बन्दै थियो भने राष्ट्रिय स्वाभिमान उचो हुँदै थियो । राजनीतिक स्थायित्वको जगमा लोकतन्त्र परिणाममुखी र जनताको जीवनसँग जोडिँदै थियो । त्यो बेला नेपालको इतिहासमै कम्युनिस्ट पार्टी शक्तिशाली भएको थियो ।

तर, सरकार गठन भएको पाँच वर्ष नपुग्दै इतिहासकै शक्तिशाली कम्युनिस्ट सरकार ढाल्नका लागि देशी–विदेशी शक्तिहरुले चलखेल सुरु गरे । सोही चलखेलको संकेत भिम रावलको अभिव्यक्तिहरुमा देखिन थाले । अनि, भिम रावलले संसदबाटै सरकारको आलोचना गर्न थाल्नुभयो ।

यतिबेलासम्म सरकार ढाल्नका लागि नेकपा भित्रैबाट केही नेताहरुले अनुवाई गर्न थालिसकेका थिए । नेकपामा देखिएको राजनीतिक किचलोकै बिच भिम रावलले तत्कालीन नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने पक्षमा उभिन थाल्नुभयो । क्रमशः एमालेबाट केपी शर्मा ओलीलाई निकाल्ने निर्णयसम्म पुग्दा भिम रावलको साथ माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई नै थियो।

यहीबीचमा सर्वोच्च अदालतले नै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णय ग¥यो । यही निर्णयका आधारमा निर्वाचन आयोगले नेकपा खारेज गरेर पूर्वएमाले र पूर्वमाओवादी छुट्याइदियो । तर, भिम रावलले आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको संसदबाटै विरोध गर्न छाड्नुभएन । त्यो बेला रावलले प्रश्न गर्नुहुन्थ्यो– ‘प्रधानमन्त्रीको पार्टी कुन हो’ ।

एमाले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको त्यो अवस्थामा भिम रावल एन्टी एमालेजस्तो देखिनुहुन्थ्यो । राजनीतिक विश्लेषकहरुका अनुसार रावललाई त्यो बेला अब एमाले सकियो वा एमालेमा रहेर कुनै भविश्य नै छैन जस्तो लागेको थियो । जब एमाले पूर्ववत् अवस्थामा फर्कियो, पार्टीका नेता कार्यकर्ताले जोडबल लगाएर काम गरे । जसको परिणामस्वरुप एमाले पुनः शक्तिशाली बन्ने लयमा फर्कियो ।

अर्कोतर्फ आफ्नै पार्टी अध्यक्ष र प्रधामन्त्रीविरुद्ध ‘प्रतिगमन’को लेप लगाउन अग्रसर देखिएका माधवकुमार नेपाल लगायतका नेताहरुलाई एमालेमा फर्किन नैतिकताले दिएन । त्यसपछि उनीहरुले एमालेलाई चोइट्याउन कोशिस गरे । तर, उनीहरुलाई देशव्यापीरुपमा एमाले कार्यकर्ताहरुले नै बहिस्कार गरे । एमाले चोइट्याउने अभियानमा भिम रावल पनि संलग्न हुनुहुन्थ्यो । अन्ततः माधवकुमार नेपाल लगायतका नेताहरुले नयाँ पार्टी एकीकृत समाजवादी गठन गरे ।

तर, त्यो पार्टीमा भिम रावल जानुभएन । राजनीतिक विश्लेषकहरुका अनुसार अब भिम रावललाई एमाले नै शक्तिशाली हुन्छ, यसबाटै लाभको पदमा जान सकिन्छ भन्ने लागेको थियो । त्यसैले उहाँले आफ्नै प्यानलका नेताहरुलाई धोका दिएर एमालेमै बस्नुभयो ।

पुरानै लयमा फर्किरहेको एमाले पंति १०औं महाधिवेशनमा जुट्यो । २०७८ मंसिरमा नेकपा एमालेको १०औं महाधिवेशनमा चितवनमा चल्दै थियो । पार्टीमाथि चौतर्फी हमला र व्यापक घेराबन्दी भइरहेको, पार्टीलाई सत्ताबाट विस्थापन गरिएको र संविधानको अपव्याख्या, अध्यादेशको दूषित प्रयोग तथा निर्वाचन आयोग एवं सभामुख जस्ता संस्थाहरूको समेत सङ्लग्नतामा पार्टीलाई विभाजित गर्ने कोशिस गरिएको प्रतिकूल परिस्थितिमा यस अधिवेशनको सफलताले महत्वपूर्ण अर्थ राख्दथ्यो ।

यस महाधिवेशनअघि एमाले पंतिले विचार र राजनीतिमा देखा परेको दक्षिणपन्थी अवसरवाद सङ्गठनात्मक क्षेत्रमा अराजकताका रुपमा प्रकट भएको महसुस गरिसकेको थियो । एउटा जीवन्त र लोकतान्त्रिक पार्टीभित्र बहस, मतभिन्नता र अन्तरविरोधहरू स्वाभाविक विषय हुन् । पार्टीभित्रका अन्तरविरोध मैत्रीपूर्ण हुन्, तिनीहरू ‘वाद–प्रतिवाद र संवाद’ को, ‘एकता– अन्तरसङ्घर्ष र अझ उच्चस्तरको एकता’ को माध्यमबाट रुपान्तरित हुन्छन् । तर, सङ्गठनात्मक अराजकताले ‘वाद–प्रतिवाद–विग्रह’ को बाटो अवलम्बन गर्छ, ‘एकता–अन्तरसङ्घर्ष र विभाजन’ को दिशामा लैजान्छ । त्यसले पार्टीमा स्थापित विधि, पद्धति र प्रचलित असल परम्परालाई लत्याउँछ । पार्टीभित्र हुने बहसहरूलाई अस्वस्थ, कटुतापूर्ण र गुटगत स्वरुप दिन्छ । संस्थाको मानमर्दन गरेर, त्यसको प्रतिष्ठामाथि आँच पु¥याएर आफू हिरो बन्न चाहन्छ । सङ्गठनात्मक अराजकताले महाधिवेशन र बैठकहरूलाई बहसका नाममा निर्णयविहीनतामा पु¥याउँछ भन्ने धारणा महाधिवेशनमा आएको प्रतिनिधिहरुको थियो ।

त्यसैले एमाले पङ्ति १०औँ महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर पार्टी एकतावद्ध छ भन्ने सन्देश दिन चहान्थ्यो । यसबाट पार्टीविरुद्ध कसैले प्रहार गर्ने सक्दैन भन्ने धारणा नेता–कार्यकर्ताहरुको थियो । त्यसैले एमाले पंतिले निर्विकल्प अध्यक्ष बनाउन खोजेको नाम थियो– केपी शर्मा ओली ।

तर, कार्यकर्ताको मनस्थितिमा भाँजो हाल्ने काम गर्नुभयो, भिम रावलले । तर, भिम रावलको अनावश्यक किचलोका कारण दसौं महाधिवेशनको प्रक्रिया पेचिलो बन्यो । उहाँ अध्यक्षमा उम्मेदवारी दिएपछि एमाले महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही क्लस्टरका केन्द्रीय सदस्यमा निर्वाचन भएको थियो ।

 

महाधिवेशनमा केपी शर्मा ओलील १८३७ मतसहित अध्यक्षमा विजयी हुँदा रावलले भने २२३ मत ल्याउनुभयो । यसबाट के प्रष्ट हुन्छ भने रावललाई हार्छू भन्ने पहिल्यै लागेको थियो । महाधिवेशनमा रावललाई उपाध्यको पद दिने सर्वसम्मति पनि भयो तरपनि उहाँले हार्नका लागि उम्मेदवारी दिनुभयो ।

पार्टीमाथि चौतर्फी हमला र व्यापक घेराबन्दी भइरहेको, पार्टीलाई सत्ताबाट विस्थापन गरिएको र संविधानको अपव्याख्या, अध्यादेशको दूषित प्रयोग तथा निर्वाचन आयोग एवं सभामुख जस्ता संस्थाहरूको समेत सङ्लग्नतामा पार्टीलाई विभाजित गर्ने धृष्टता गरिएको प्रतिकूल परिस्थितिमा एकताको सन्देश, व्यापक सहभागिता, छलफलमा यस्तो जीवन्तता, निष्कर्षमा यस खालको सर्वसम्मतिको दूरगामी महत्व छ । तर रावलका कारण पार्टीले निर्धक्क भएन एकतावद्ध भएको सन्देश दिन सकेन ।

अर्कोतर्फ अध्यक्षमा पराजित भिम रावललाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरियो । तर उहाँ पार्टींपंतिसँग जोडिनै चहानुभएन । पार्टीको काममा पनि कहिल्यै सक्रिय हुनुभएन । अर्कोतर्फ सुदूरपश्चिममा एमाले निकै कमजोरसमेत भयो । तर, उहाँले एमाले र एमालेको नेतृत्वविरुद्ध अभिव्यक्ति दिन छाड्नु भएन ।

यहीक्रममा भिम रावलले एमालेको आन्तरिक गतिविधिलाई सार्वजनिक मुद्दासमेत बनाउन खोज्नुभयो । पछिल्लो समय जब–जब एमालेले कुनै संकट व्यहोथ्र्यो, त्यो संकटमा भिम रावल देखिन छाड्नुभयो । अझ उहाँले एमाले पार्टी र नेतृत्वविरुद्ध नै प्रहार गर्न थाल्नुभएको छ ।

सोही कारण भिम रावललाई एमालेले अनुशासनको कारबाही गरेको छ । एमालेको सचिवालय बैठकको निर्णयको विषयमा एमालेभन्दा, एमाले विरोधी पङ्ति बढी चिन्तित देखिन्छ । एमाले आन्तरिक निर्णयमा विरोधी पङ्तिले किन चिन्ता प्रकट गरेका हुन्? यस प्रश्नको उत्तर भविश्यले देला । तर, भिम रावलले आफ्नै पार्टी एमालेमाथि अन्याय नै गरेका हुन् ।

 

के एमाले रावललाई कहिल्यै अवसर दिएको छैन? उहाँमाथि एमालेले अन्याय नै गरेको हो त? पक्कै होइन । भिम रावलले एमालेको माध्यमबाट लिएका लाभका पदहरु हेर्नुहोस–

– २०४६ सालमा अन्तरिम मन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय) ।

– ०५२ सालमा पर्यटन राज्यमन्त्री ।

– २०५५ मा पर्यटनमन्त्री ।

– २०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन ।

– २०६४ मा समानुपातिक सभासद ।

– २०६६ मा गृहमन्त्री ।

– २०७२ मा उप प्रधान सहित रक्षा मन्त्री ।

‘मनलाग्दी अभिव्यक्ति दिने, आफ्नै पार्टीको हितविरुद्द गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौँ भिम रावलले अराजकता हुर्काउने छन् ? त्यसैले जो कोही पनि पार्टीको विधि–विधान र अनुशासनमा बस्नै पर्दछ अन्यथा कम्यूनिष्ट पार्टी अराजकताको सिकार बन्ने र समाप्तको बाटोमा पुग्न कसैले रोक्न सक्दैन’ भिम रावललाई कारबाही गरिएको सन्दर्भमा एमालेका एक नेताले भन्नुभएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *