नेकपा एमालेको कार्यकर्ता भएपछि जे पनि गर्ने छुट पाइँदैन, पार्टीको मर्म अनुसार चल्नुपर्छ ;पुर्व मन्त्री गिरी
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज पदम गिरीले नेकपा एमालेमा पार्टीको अनुशासन विपरित काम गर्ने जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याईने बताउनुभएको छ । नेकपा एमाले मोदी गाउँपालिका वडा नं ५ बाजुङ वडा कमिटिको दोस्रो अधिकवेशनलाई सम्वोधन गर्दै गिरीले पार्टीको नीति , विधि नमान्नेहरु कारवाहीको भागिदार हुनुपर्ने बताउनुभयो । नेकपा एमालेले केही दिन अघि भीम रावललाई कारबाही गरेको चर्चा तल्लो तहसम्म पनि चलिरहेका बेला नेता गिरीले कम्युनिस्ट पार्टीको कार्यकर्ताहरु अनुशासनमा रहनुपर्ने बताउनुभयो। नेकपा एमालेको कार्यकर्ता भएपछि जे पनि गर्ने छुट पाइँदैन, पार्टीको मर्म अनुसार चल्नुपर्छ उहाँले भन्नुभयो। जो पार्टीको हित विपरित काम गर्छ उसले कारबाही भोग्नुपर्छ ।
पुर्वमन्त्री समेत रहनुभएका नेता गिरीले नेकपा एमालेको नेतृत्वमा भएको कामको प्रचार प्रसार तल्ला तहसम्म पुर्याउन आग्रह गर्नुभयो । नेका एमालेको नेतृत्वविना विकास नहुने भन्दै गिरीले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले जनताको दुख सुखमा साथ दिनका लागि एमालेका कार्यकर्ताहरु कर्मी मौरीझै सामाजिक काममा जुट्न समेत निर्देशन दिनुभएको छ । उहाँले आफु सांसद भएपछि पर्वतको विकासमा धेरै कामहरु गरेको बताउँदै अब जिल्लाका ६१ वटै वडासम्म कालोपत्रे सडकको पहुँच पुर्याउन लागि परेको बताउनुभयो । गाउँमै आधरभुत विकासका कामहरु पुर्याउन नसके बसाइसराइ रोक्न नसकिने भएकाले सडक , खानेपानी,स्वास्थ्य,विद्युत,सिचाईको पहुँच सबै नागरिक र टोल बस्तीसम्म पुर्याउनका लागि आफु सक्रिय भएर लागेको उहाँको भनाई रहेको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य मेघनाथ सुवेदी, एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवम् मोदी गाउँपालिकाको अध्यक्ष हिरा देवी शर्मा , जिल्ला अध्यक्ष गोविन्द पहाडी, प्रदेश कमिटी सदस्य प्रेम पौडेल, प्रदेश सभा सदस्य भक्त कुँवर , सचिबमा विदुर हमाल , उप सचिवमा महेन्द्र क्षेत्री र सिता पौडेल रहनुभएको छ । बाजुङमा २१ सदस्यीय वडा कमिटी सर्वसम्मतरुपमा निर्वाचित भएको हो ।
Facebook Comment