प्रमोद खरेलको करिअरमा नयाँ मोड, ब्याण्डसँगै कन्सर्ट

 

गायक प्रमोद खरेलका लागि सन् २०२४ खास रह्यो । त्यो वर्ष उनको ब्याण्ड ‘परम्परा’ले पुनर्जीवन पायो । साउदी अरबमा आयोजित ‘जेद्दा सिजन २०२४’ मा उनी ब्याण्डसहित गुन्जिए ।त्यसयता खरेलको सांगीतिक करिअरले नयाँ मोड लिएको छ । ‘सोलो’ गायकको रुपमा परिचित उनको अग्लो कद नयाँ वर्षमा चुलिनेछ । किनभने उनले ब्याण्डसँग सांगीतिक माहोल सिर्जना गर्न प्रयत्न गर्नेछन् । यसको थालनी भइसकेको छ ।

२०२४ को उत्तरार्धमा भारतको आसाम र सिक्किमदेखि सुरु भएको प्रमोद र परम्पराको सांगीतिक माहोल जेद्दाको ‘कल्चरल ओडीसी’ कार्यक्रममा अझै गुल्जार बन्यो । जेद्दापछि ‘प्रमोद र परम्परा’ काठमाडौंको पोताला र किङ्स लाउन्ज, भैरहवाको टाइगर टपमा गुन्जिए । गुञ्जिने र गुञ्जाउने तालिका अझै बढ्दै जाने देखिएको छ । प्रमोद र परम्पराले विभिन्न जिल्लामा आयोजित मेलापर्व र महोत्सवमा प्रस्तुति दिंदैछन् । १९ पुसमा डुम्रेको भानु नगर महोत्सव, २९ पुसमा कास्कीको लेखनाथ महोत्सव, ६ माघमा प्रमोदले ब्याण्डसहित कन्सर्ट गर्ने तय भएको छ । व्यावसायिक कन्सर्ट मात्र नभएर मुलुकको भिन्न संस्कृति र पहिचान झल्किने प्रस्तुति दिने तयारीमा आफू र आफ्नो ब्याण्ड रहेको प्रमोदले बताए । ‘नेपाली भाषाभाषी मात्र होइन, भूगोललाई प्रतिनिधित्व गर्ने, पहिचान झल्कने प्रस्तुति दिने ब्याण्डको तयारी छ,’ प्रमोदले भने ।

जे होस्, सन् २०२५ प्रमोद खरेल एण्ड परम्परा ब्याण्डको लागि खास हुने पक्का छ । यस वर्ष ब्याण्डको सक्रियता हुने त छ नै, दर्शकले नयाँ रचना पनि सुन्न, हेर्न पाउनेछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *