किन निराशा ? पढ्नुहोस्, आशा जगाउने ५ समाचा
काठमाडौँः आइतबार दिउँसो एमाले नेता प्रदीप ज्ञावाली आफ्नो फेसबुक पेजमा एउटा स्ट्याटस लेख्नुहुन्छ । उक्त स्ट्याटसमा उहाँले उल्लेख गरेको विषय छ– ‘हेर्दा सामान्य तर आशा जगाउने समाचारहरू’ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका एमाले उपमहासचिव ज्ञावालीले उल्लेख गरेका आशा जगाउने सकारात्मक समाचारहरुमा के के होलान् ? अनुमान गर्नुहोस् त ।
उहाँले इंगित गरेका आशा जगाउने समाचारहरुमा दैलेखमा पेट्रोलियम पदार्थको स्याम्पल निकालिएकोदेखि धनगढीका दुना तथा टपरी अमेरिकासम्म पुगेको विषय समेटिएका छन् । प्रदीप ज्ञावालीको नजरमा हेर्दा सामान्य तर आशा जगाउने ५ समाचार यस्ता छन्–
‘नेपालमै पेट्रोलियम पदार्थको उत्खनन्’
नेता ज्ञावालीको नजरमा हेर्दा समान्य लाग्ने तर नेपालीहरुमाझ आशा जगाउने पहिलो समाचार हो– ‘नेपालमा पेट्रोलियम पदार्थको उत्खनन् ।’
पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको समाचार राष्ट्रिय मिडियाहरुमा र्चचाको विषय बनेको छ । दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजले माकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको स्याम्पल निकालिएको समाचार संचार माध्यममा प्रकाशित छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिइसक्नुभएको छ । अब नमुना परिक्षण गरी नेपालमै पेट्रोलियम पदार्थको ब्यवसायिक उत्खनन गरिनेछ ।
‘कैदीबन्दीले बनाएका मुढा चीन निर्यात’
ज्ञावालीले आफ्नो लेखोटमा उल्लेख गरेको दोस्रो विषय हो– ‘कैदीबन्दीले बनाएका मुढा चीन निर्यात’
स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात गरिने जानकारीसहितको समाचार विभिन्न संचार माध्यमले प्रकाशित गरेका छन् । चीनको एक संस्थाले जिल्ला कारागारसँग झन्डै ३ हजार मुढाको माग गरेको समाचारमा उल्लेख छ । सोही मागअनुसार तत्काल १ हजार ५ सय मुढा चीन निर्यात गर्न लागिएको जिल्ला कारागार स्याङ्जाका निमित्त जेलर दिनेश शर्माले कान्तिपुर दैनिकलाई जानकारी दिनुभएको छ ।
‘धनगढीका दुना–टपरी अमेरिकासम्म’
त्यस्तै ‘धनगढीका दुना–टपरी अमेरिकासम्म’ पुगेको समाचारलाई पनि नेता ज्ञावालीले आफ्नो लेखोटमा उल्लेख गर्नुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारी सनिटोलकी ३६ वर्षीया भावना पुलामी मगरले दुना–टपरीको व्यवसाय संचालन गरिरहेकी छन् । ५ वर्षअघि धनगढी–१४ स्थित फूलबारीमा उद्योग खोलेर दुना–टपरी बनाउन थालेकी भावनाले अहिले दैनिक २२ सय टपरी र ३५ सय दुना उत्पादन गरी बिक्री वितरण गर्दै आएकी छन् । उनको उद्योगमा ५० भन्दा बढी गाउँले महिलाहरूले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी पाइरहेका छन्, उत्पादित दुना–टपरी अस्ट्रेलिया, बेलायत र अमेरिकासम्म पुगेका छन् ।
यही समाचार नेपालका संचार माध्यमले प्रकाशित गरेका छन् । ज्ञावालीले आफ्नो लेखोटमा सोही जानकारीलाई उल्लेख गर्नुभएको छ ।
‘गुल्मीको अर्गानिक सख्खर युरोप, अमेरिका र अष्ट्रेलियासम्म’
गुल्मीको रूरूक्षेत्रमा उत्पादन गरिएको थोर्गेली अर्गानिक सख्खर कोसेलीको रूपमा युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुग्ने गरेको समाचार केही दिनअघि संचार माध्यममा प्रकाशित भएका थिए । थोर्गेली अर्गानिक सख्खर स्वादिलो हुने भएको कारण कोसेलीको रूपमा विभिन्न देशमा पुग्ने गर्दछ । यो समाचारलाई पनि नेता ज्ञावालीले हेर्दा सामान्य तर आशा जगाउने ५ समाचारको सूचिमा राख्नुभएको छ ।
‘गुल्मीको कफी जापानदेखि कोरियासम्म, माग धान्न मुस्किल’
गुल्मीमा उत्पादन भएको कफी जापान, कोरिया र फ्रान्ससम्ममा माग बढ्न थालेको छ । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । तर माग बमोजिमको कफी उत्पादन हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा गुल्मीका किसानको आकर्षण बढेको छ ।
‘गुल्मीको कफी जापानदेखि कोरियासम्म पुग्ने गरेको र माग धान्न मुस्किल परेको सोही समाचारलाई नेता ज्ञावालीले हेर्दा सामान्य तर आशा जगाउने ५ समाचारको सूचिमा राख्नुभएको छ ।
Facebook Comment