सेन्ट लरेन्स युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ मा दुई विधामा पुरस्कृत
काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेज युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौँ संस्करणमा दुई विधामा पुरस्कृत भएको छ। नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित उक्त सम्मेलनमा कलेजले ‘लाइफ साइन्स’ विधामा द्वितीय स्थान र ‘गणित, इन्जिनियरिङ तथा रोबटिक्स’ विधामा विशेष अवार्ड प्राप्त गरेको हो।
युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा आयोजित उक्त सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरिका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न पाँच विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गरेका थिए । जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका थिए । सम्मेलनमा लगभग ४३ वटा विद्यालयको सहभागिता रहेको थियो ।
सिंगापुर र भारतका विद्यालयले समेत अनलाइनबाट सहभागिता जनाएका थिए ।तोकिएका विधाहरू मध्ये दुई विधामा सहभागिता जनाएको सेन्ट लरेन्स दुवै विधामा पुरस्कृत हुन सफल भएको हो। पहिलो विधा अन्तरगत ‘लाइफ साइन्स’ का लागि कलेजका विद्यार्थीहरू नीलिमा सुवेदी, ज्योतिका राई र गणेश ज्योतिले भान्साबाट निस्किने प्याज र रातो बन्दाको बाहिरी बोक्रा बाट पानीमा रहेका गह्रौँ धातुहरू (हेभी मेटल्स) तथा अम्लीय र क्षारीय गुणहरूलाई जाँच गर्ने परीक्षण किट बनाएर प्रस्तुत गरेका थिए र उक्त विधामा द्वितीय स्थान प्राप्त गर्न सफल रहे।
त्यस्तै दोस्रो विधा गणित, इन्जिनियरिङ र रोबोटिक्स अन्तर्गत कुशल दंगाल, सम्रक अधिकारी र सागर भट्टराईले बहुकार्यात्मक उपकरण निर्माण गरेका थिए। यो परियोजनामा विद्यार्थीहरूले आफ्नै मेहनत बाट खेर गइरहेका सामानहरू बनाएर सर्किट बाट अल्ट्रासोनीक आवाज निकाल्ने र घरमा दुख दिने साङ्ला, मुसाहरू धपाउने प्रविधिको विकास गरेका थिए। यसमा उनीहरूले विशेष अवार्ड प्राप्त गर्न सफल रहे।
प्रतिष्ठित नेपाली वैज्ञानिकहरूको मूल्याकंन समितिले प्रस्तावना, भिडियो क्लिप, पोस्टर र मौखिक प्रस्तुतिहरूको नवीनता र मौलिकताका आधारमा विजेता चयन गरेको बताइएको छ। प्रत्येक विधाका विजेतालाई युवा वैज्ञानिकको उपाधि, प्रमाणपत्र, पदक र नगद रुपैयाँसमेत प्रदान गरिएको छ । त्यस्तै, विजेताहरूले ‘एसिया प्यासिफिक कन्फरेन्स अफ योङ साइन्टिस्ट्स २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।
सेन्ट लरेन्सको यो उपलब्धि बारे प्रतिक्रिया दिँदै प्रधानाध्यापक तारा प्रसाद सुवेदी यो सफलता कलेजमा नियमित रूपमा हुने शैक्षिक गतिविधि, विज्ञान परियोजना र अतिरिक्त क्रियाकलापहरूको प्रतिफल भएको बताउँछन् । मात्र एजुकेसन सँगको संवादमा उनी भन्छन्, “यसअघि पनि कलेजले यस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको छ र भविष्यमा पनि हामी यस प्रकारका गतिविधिहरूलाई प्रोत्साहन गर्दै थप सफलता हासिल गर्ने लक्ष्यमा अघि बढ्नेछौँ। म हाम्रो विद्यार्थीहरू, शिक्षकहरू र सम्पूर्ण परिवारलाई यो उपलब्धिका लागि बधाई ज्ञापन गर्न चाहन्छु।”
विजेता विद्यार्थीहरूलाई सेन्ट लरेन्सले कलेजमा एक विशेष कार्यक्रम आयोजना गरेर सम्मान समेत गरेको थियो।
Facebook Comment