रवि विरुद्धको ४ करोड १५ लाख विगो माग मुद्दा जिल्ला अदालत रुपन्देहीमा दर्ता प्रक्रियामा
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा रुपन्देही जिल्ला अदालतमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा पठाइएको उनको भनाइ छ ।
संगठित रूपमा ठगीको कसुरमा मुद्दा दायर गर्न लागिएको हो । उक्त मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड छ । त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित लाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रबार प्रहरीले बुझाएको थियो ।प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रूपैयाँको बिगो माग दाबी गरिएको छ ।त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गरिएको छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
रुपन्देही अदालतका सूचना अधिकारी अनन्त मरासिनीले मुद्दा अदालतमा आएपनि दर्ता गर्न समय लाग्ने बताए ।‘अदालतमा आएपछि दर्ता भयो भन्ने हुन्छ, तर फाइल आएपछि रुजु गर्न समय लाग्छ, त्यो सकिएपछि मात्रै दर्ता गर्नेछौं’ उनले भने ।
Facebook Comment