क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै क्यानले उनलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको मतलब उनलाई क्यानले आयोजना गर्ने प्रतियोगितामा एक खेल प्रतिबन्ध गरिएको हो। ‘म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले  भने, ‘उनले क्यानको आचार संहिताको २.७ को उल्लेख गरेको पाइएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गरिएको छ र स्पष्टीकरणसमेत सोधिएको छ।’

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए। जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गतल निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। खेलमा बागमतीका शुभ कंसाकार आउट भए लगत्तै दिनको खेल सकिएको घोषणा गरेको विषयमा सन्दीपले आपत्ति जनाएका थिए। खेलको अम्पायर विनयकुमार झा र हिरालाल राउत थिए। विकेट लिएको पनि अंक जोडिने हुँदा आफ्नो विकेट गुमेपछि दिनको खेल समाप्ति घोषणा गर्दा उनले असन्तुष्टि पोखेका थिए भने मैदानमा अम्पायरहरूसँग वादविवाद गरेका थिए।खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदन नचालिए गलत निर्णय हुने र खेलाडीहरु पीडित बन्ने भनेर लेखेका थिए। त्यसपछि म्याच अम्पायर र प्राविधिक समितिले सन्दीपले अनुसाशसन उल्लघन गरेको भन्दै उनलाई तीन डिमेरिट अंक दिएका थिए। त्यसमा उनले असन्तुष्टि जनाएका थिए।पछिल्लो समय सन्दीपले समाजिक सञ्जालमा सन्दर्भ प्रष्ट नहुने खालका पोस्टसमेत गर्ने गरेका छन्। क्यानले स्पष्टीकरण सोध्दै एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेपछि सन्दीपले तीन दिनअघि आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए। त्यसपछि कतिपयले उनले संन्यास लिन लागेको भन्नेसमेत अड्का काटेका थिए।दुई दिनपछि सोमबार सन्दीपले समाजिक सञ्जालमा अर्को स्टाटस लेखेका छन्। उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिनका लागि ह्वाट्सएप भने खुला रहने भन्दै लेखेका छन्।

संसारभरका फ्रेञ्चाइज क्रिकेट लिग खेलेर चर्चा कमाएका सन्दीपले गत जेठमा उच्च अदालत पाटनबाट बलात्कार कसुरमा सफाइ पाएका थिए। त्यसअघि २०८० को पुसमा भने जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटमा आफ्नो पुरानो लय फर्काउने कोशिसमा रहेका सन्दीपले मैदानमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्।गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए। तर घरेलु फ्रेञ्चाइज प्रतियोगितामध्ये एनपिएल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *