फेसबुकमा जातीय विभेदजन्य कमेन्ट लेख्ने शिक्षक सिंहलाई ३ महिना कैद र ३० हजार जरिवाना

सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेख्ने एक शिक्षकलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ।बुधबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखको महाबु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना तिराउने फैसला गरेको हो।

दलित समुदायका अगुवाहरूले उनको प्रतिक्रिया समग्र दलित समुदायप्रति लक्षित रहेको भन्दै कारबाहीको माग गर्दै जातीय छुवाछुतविरूद्ध जाहेरी दिएका थिए। दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले गत साउन २२ मा जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेकोमा बुधबार अदालतले उक्त फैसला गरेको जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार निर्मलाकुमारी खड्काले जानकारी दिइन्।गत साउनमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारको सचिवालयमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक गरिएको थियो। उक्त विवरण विनोद बुढा नामका प्रयोगकर्ताले सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए। त्यसैमा महाबु गाउँपालिकाको गीताचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकसमेत रहेका सिंहले कमेन्ट गरेका थिए।

उनले कमेन्टमा ‘सबै डुमैडुम छन् त यार अरू कोही रहेनछन् त’ लेखेका थिए।त्यसपछि जातीय विभेद हुने गरी सिंगो दलित समुदायको आत्मसम्मानलाई चोट पुर्याउने सामाजिक सद्भाव भड्काउने कार्य गरेको भन्दै गम्भीर सिंह भुलले रिट निवेदन दायर गरेका थिए।रिट निवेदक भुलले सुर्खेत जिल्ला अदालतबाट सम्भव त पहिलोपटक दलित समुदायमाथि भइरहेको विभेद विरुद्धको मुद्दामा थोरै भए पनि दलित समुदायको पक्षमा फैसला गरेकोमा खुसी व्यक्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *