सिद्धबाबा सुरूङमार्ग ब्रेक थ्रु गरिँदै, बुटवल-गोरूसिंगे सडक शिलान्यास पनि आजै
शुक्रबार सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु (अन्तिम छेड्ने काम) हुँदै छ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक थ्रु गरिँदैछ।सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङको ब्रेक थ्रुका लागि सम्पूर्ण तयारी पुरा भएको र ब्रेक थ्रुका लागि साढे १ मिटर भाग मात्रै बाँकी राखिएको जानकारी दिए। ‘ब्रेक थ्रुको लागि आयोजनाको तर्फबाट सबै तयारी पूरा भएको छ, ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री समेत आउने भएपछि सडक विभागको टिम पनि बुटवल आइसकेको छ,’ अधिकारीले भने।सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै ४ किलोमिटर सडक वर्षा होस् या हिउँद सधै पहिरोको उच्च जोखिममा पर्छ।
सडकदेखि तल तिनाउ नदितर्फ अप्ठ्यारो भीर सहितको छांगो र माथितर्फ अग्लो चट्टान सहितको पहाड भएकाले वर्षामा मात्र होइन हिउँदमा समेत सुख्खा पहिरो झर्ने गर्छ।यो सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरुको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउँदै छन्।निर्माण कम्पनीसँग गरिएको सम्झौता अनुसार निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ। आयोजना प्रमुख अधिकारीले निर्माण कम्पनीले पछिल्लो वर्ष गरेको कामको प्रगति हेर्दा तोकिएको अवधीमै सुरुङमार्ग निर्माणको काम सम्पन्न हुने अपेक्षा गरिएको बताए।अधिकारीका अनुसार अहिले सुरुङमार्गको ४० प्रतिशत काम सम्पन्न भएको छ।आजै बुटवल–गोरूसिंगे सडकको शिलान्यास पनि हुँदैछ।आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउसो २ बजे प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा बुटवल गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बन्न लागेको बुटवल–गोरुसिंगे खण्डको ५० किलोमिटर सडकको शिलान्यास हुन लागेको हो।
उक्त सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले दुई भागमा गरि ठेक्का सम्झौता गरेका छन्।बुटवलदेखि रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते ठेक्का सम्झौता भएको आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन्।कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँको लागतमा निर्माण हुने ५० किलोमिटर सडकमध्ये बुटवलदेखि कोठिनदी सम्मको २५ किलोमिटरका लागि ७ अर्ब ८९ करोड र कोठिनदिदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरका लागि ५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। सम्झौता अनुसार २०८४ असोजभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।
Facebook Comment