रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस, रविका पक्षमा कम वकिल राखेर छोट्याउने तयारी
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ ।जिल्ला अदालत रुपन्देहीमा बिहीबार सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका गरेका थिए । आज पनि सो क्रम जारी रहने र बाँकी रहेका वकिलहरूको बहसपछि रविको पक्षमा रहेका वकिलहरूले बहस गर्नेछन् ।न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा सहकारी पीडितको तर्फबाट आज शुक्रवार दुई जना कानुन व्यवसायीले बहस गर्नेछन् ।
शुक्रवार नै अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी छ ।दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।
आज शुक्रवार भएकाले र रवि पक्षका धेरै वकिल भएकाले नसकिने भएकाले कम वकिललाई बहस गराएर आजै टुङ्गाउने तयारी छ ।
Facebook Comment