रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीका परिवारले भारत सरकारको तर्फबाट जनही साढे ६ लाख भारू पाउने

भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीका परिवारले जनही साढे ६ लाख भारतीय रुपैयाँ (१० लाख ४० हजार रुपैयाँ) पाउने भएका छन् ।सबै मृतकका परिवारलाई भारतको केन्द्र सरकारले जनही १ लाख ५० हजार र महाराष्ट्र सरकारले ५ लाख भारू दिने घोषणा गरेका हुन् । केन्द्र सरकारले ५० हजार क्यास तथा बाँकी बैंकमा जम्मा गरिदिने जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बिहीबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने दजनौं घाइते भएका छन् । ज्यान गुमाउनेमा सात नेपाली पनि परेका हुन् । यस्तै दुर्घटनामा परी चारजना नेपाली घाइते भएका छन् ।मृत्यु हुनेमा अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छन् ।त्यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र मधेस प्रदेशको नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।महाराष्ट्र सरकारले शव घरसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएको प्रवासी नेपाली संघ भारत महाराष्ट्र पश्चिम मुम्बई नगर समितिका अध्यक्ष मनीनषकुमार भूमिले जानकारी दिए ।

साथै कैलालीकी कमला भण्डारीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । नन्दराम विकसहित उनका परिवारको शव भारतको पुणेमा अन्तिम संस्कार गरिने छ ।जयकला कामीको शव अछामको सिउँडी ल्याइने तयारी भएको जनाइएको छ ।
।दुर्घटनामा घाइते भएका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *