ताप्लेजुङमा ‘नो केबलकार’ आन्दोलनमा गोली लागेर घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइयो
ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको विरोधका क्रममा प्रहरीको गोलीबाट घाइते भएकामध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र एपीएफबीच हिजो दिउँसो झडप भएको थियो ।
प्रहरीको गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा र मंगल लावती घाइते भएका थिए । घाइतेमध्ये तेह्रथुमका यामबहादुर, पाँचथर मिक्लाजुङ गाउँपालिका सगुन र धर्मेनलाई काठमाडौं लगिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले बताए ।एकजना भने विराटनगरबाट उपचारपछि डिस्चार्ज भएका छन् । आन्दोलनको क्रममा पक्राउ परेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ताप्लेजुङ प्रहरीको हिरासतमा छन् । मंगलबारदेखि पाथिभरामा केबलकार निर्माण सुरू गरिएको थियो । केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरू गरेको ‘नो केबलकार समूह’ आज आइतबारदेखि थप आन्दोलन गर्ने तयारी गरेको थियो । त्यसको लागि आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।शनिबार बेलुका करिब ६ बजे पाथीभरा क्षेत्रको बलुडाडाँमा प्रहरी पुगेपछि आन्दोलनकारीले माथिबाट ढुंगामुडा गरेका थिए ।
त्यसपछि प्रहरीले गोली चलाएको थियो ।आन्दोलनमा दमन गरेको भन्दै पहिचानवादीले मंगलबार मेची राजमार्ग बन्दको आव्हान गरेका छन् ।सशस्त्र प्रहरीले पाथीभरा (मुक्कुमलुङ ) संरक्षणका पक्षधरमाथि कुटपिट गरेको भन्दै बन्दको आव्हान गरिएको उनीहरूको भनाइ छ ।
Facebook Comment