माओवादी उपाध्यक्ष श्रेष्ठको घोषणाः अब पार्टीको पुनर्गठन र एक्लै चुनाव लड्ने तयारी

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको पुनर्गठन र रूपान्तरण गरी आगामी चुनावमा एक्लै लड्ने तयारी गरेको घोषणा गरेका छन्।शनिवार अर्घाखाँचीको भूमिकास्थान नगर कमिटीको तेस्रो अधिवेशनमा उद्घाटन गर्दै उनले पार्टीले जनतासँग पुग्न र शक्तिशाली बन्न पुनर्गठन आवश्यक रहेको बताए।

श्रेष्ठले भने, “हामी ०६४ मा ठूलो शक्ति थियौं, तर अहिले शक्तिमा कमजोर छौं। हाम्रो चरित्र, आचरण र व्यवहार हिजो स्वच्छ थियो, जनतासँग सम्बन्ध कसिाले थियो, नीति विचार र सिद्धान्तमा अडिग थियौं, त्यसैले पहिलो शक्ति बनेका थियौं। अब सच्चिएर पार्टीको रूपान्तरण र पुनर्गठन गर्दै जनतासँग पुग्नुपर्छ।” उनले माओवादी पार्टीले नै लोकतन्त्र रक्षा र सामाजिक(आर्थिक रूपान्तरण गर्ने बताउँदै कार्यकर्ताहरूलाई जनतासँग पुग्न अपिल गरे।“अब पार्टीको रूपान्तरण र पुनर्गठन गरी एक्लै चुनावमा लड्छौं। कार्यकर्ताहरू घरघरमा पुग्नुस्, हरेक कमिटीमा सक्रिय हुनुस्,” उनले जोड दिए।श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरू देशभर जनजागरणमा लागेको बताए। उनले पार्टीका कार्यकर्ताहरू उत्साहित र संकल्पबद्ध भएको दाबी गर्दै आवश्यक परेमा सडक संघर्षको लागि पनि तयार रहन आग्रह गरे।

साथै, उनले वर्तमान सरकारलाई निरंकुश र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। “सरकारले सुशासन कायम गर्ने अभियानमा नांगिएकाले जनतामा निराशा र आक्रोश देखा परेको छ,” उनले बताए।यसैबीच, श्रेष्ठले पाल्पा, सिराहा, डडेलधुरा र ओखलढुङ्गामा पनि कार्यक्रमहरू आयोजना गरेको जानकारी दिँदै पार्टीमा उमंग र जनतामा आकर्षण बढेको बताए। उनले कार्यकर्ताहरूलाई एकताबद्ध र संकल्पबद्ध हुन आह्वान गरे।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *