ग्याँस सिलिन्डरको म्याद गुज्रिने मिति कसरी चिन्ने ?
खाना पकाउने ग्याँसको सिलिन्डर विस्फोट खतरनाक हुन्छ । सिलिण्डरबाट ग्याँस लिक भएर आगलागी हुने र कहिलेकाहीँ विस्फोट नै भएर जनधनको क्षति भएका घटनाहरु बेलाबेला सार्वजनिक भइरहन्छन् ।आज बिहान मात्रै काठमाडौंको कमलपोखरीस्थित सानदार मोमो पसलको भान्छा कोठामा ग्याँस सिलिण्डर पड्किँदा १४ जना घाइते भए । तीन जनालाई उपचार गर्न अस्पताल लैजानुनपर्ने खालको सामान्य घाइते भए पनि ११ जनालाई अस्पताल नै लग्नुपरेको छ । त्यसैले ग्याँस सिलिण्डर सुविधाको दृष्टिले सजिलो भए पनि प्रयोगमा असावधानी अपनाउँदा यो खतरनाक पनि हुने गरेको छ । त्यसैले यसबाट हुने क्षतिको हिसाबलाई हेरेर कतिपयले ग्याँस सिलिण्डरलाई ‘भान्छाको बम’ को संज्ञा पनि दिने गरेका छन् ।
एकातिर असुरक्षित ग्याँस सिलिन्डरबारे उपभोक्ता सचेत हुन सकेका छैनन् भने जोखिमयुक्त ग्याँस सिलिण्डर बजारमा पुग्नबाट नियन्त्रण गर्न पनि सरकारले सकिरहेको छैन । त्यसैले उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको जोखिम बुझ्न र घातक बिष्फोटबाट बच्न आफैं सजग हुनु आवश्यक देखिएको छ । उपभोक्ताले ग्याँस सिलिण्डर खरिद दर्ता त्यसको प्रयोग गर्न मिल्ने म्याद (एक्सायर्ड डेट) पनि ख्याल गर्नुपर्ने हुन्छ ।कसरी हेर्ने सिलिन्डरको म्याद गुज्रिने मिति ?सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक लेखिएका हुन्छन् ।ती अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३\३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।
‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।माथिको तस्वीरको सिलिन्डरमा ए–२३ लेखिएको छ । त्यो सिलिन्डरको म्याद सन् २०२३ को मार्च महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ ।यस्तै एक्सपायर्ड डेट बाँकी रहे पनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।स्मरणीय के छ भने अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् । त्यसपछि ५\५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था छ ।यसैका कारण नेपाली बजारमा २० वर्षभन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५\५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि नगरेका हुनसक्ने अनुमान छ ।उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।भारतीय नाकाबन्दीका बेलामा धादिङका उद्योगहरुमा तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुन आफैं पुगेर अनुगमन गर्दा यस्ता म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको भेटिएको थियो ।
Facebook Comment