ट्रम्पलाई गजामा ‘एथ्निक क्लेनजिङ’ नगर्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गजापट्टी आफ्नो स्वामित्वमा लिने घोषणा गरे पछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ट्रम्पलाई गजा क्षेत्रमा जातीय सफाया (एथ्निक क्लेनजिङ) नगर्न भनेका छन्।मंगलबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गजा आफ्नो अधीनमा लिने र त्यहाँका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डन लगायत देशमा पुनर्वास गराउनुपर्ने बताएका थिए।’समाधान खोज्दा, हामीले समस्यालाई अझ जटिल बनाउनु हुँदैन। अन्तर्राष्ट्रिय कानूनी मान्यता प्रति बफादार रहनु आवश्यक छ। कुनै पनि प्रकारको जातीय सफाया गर्नबाट बच्नु अनिवार्य छ,’ गुटेरेसले युएन समितिका सदस्यहरू सम्मिलित एक पूर्वनिर्धारित बैठकमा बुधबार भने।’हामीले दुई–राज्य समाधान (टु–स्टेट सोल्युसन) प्रति पुनः दृढता व्यक्त गर्नुपर्छ,’ उनले भने।गुटेरेसले ट्रम्पको नाम नलिए पनि उनका प्रवक्ता स्टेफान डुजारिकले उनको टिप्पणीलाई ट्रम्पको प्रस्तावप्रति प्रतिक्रियाका रूपमा लिन मिल्न भनेको समाचार संस्था रोएटर्सले जनाएको छ।

गुटेरेसले जोर्डनका राजा अब्दुल्लाहसँग पनि सो क्षेत्रको स्थितिका बारेमा बुधबार कुरा गरेका थिए। अब्दुल्लाहले अर्को हप्ता वासिङटन गएर ट्रम्पलाई अरब राष्ट्रहरूको तर्फबाट संयुक्त सन्देश दिने छन् भनेर वेस्ट बेंकमा शासन गर्ने प्यालेस्टिनी अथोरिटीका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि दूत रियाद मन्सुरले बताए।ट्रम्पको घोषणाको गजामा शासन गर्ने हमास, प्यालेस्टिनी अथोरिटी अनि सबै अरब राष्ट्रहरूले विरोध गरिसकेका छन्। हमासले उनको घोषणालाई हास्यास्पद र बेतुकको भनेको छ। यसले गजामा फर्किएको शान्ति भंग गर्ने र पुनः तनाव सिर्जना गर्ने जनाएको छ।गजाको स्वामित्व अमेरिकाले लिने र त्यहाँ रहेका सबै खतरनाक तथा नपड्किएका बम र अन्य हतियारहरू नष्ट गर्ने ट्रम्पले मंगलबार भनेका थिए।अमेरिकी मिडिया सिएनएनका अनुसार पत्रकारहरूले ट्रम्पलाई त्यसो भए गजामा अमेरिकी सेना पठाउन लागिएको हो भनेर प्रश्न गरेका थिए।जबाफमा ट्रम्पले त्यसलाई अस्वीकार गरेनन्।

‘हामी आवश्यकता अनुसार गर्नेछौं। यदि आवश्यक परे त्यसो गर्न पनि सक्नेछौं। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौं,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको थियो।उनले गजाको स्वामित्व अमेरिकाले लिएपछि त्यहाँ मात्रै नभई पूरै मध्यपूर्वमा दीर्घकालीन स्थिरता रहने बताएका थिए।गजामा युद्धविराम घोषणा भएपछि हजारौं हजार मानिसहरू आफ्नो घरमा फर्किएका छन्। ट्रम्पले भने अहिल्यै प्यालेस्टिनीहरू फर्कनु उचित नरहेको बताएका थिए।’गजा खण्डहर बनेको छ। बस्नका लागि उचित भइसकेको छैन। किन मानिसहरू फर्किरहेका छन्। बरू मध्यपूर्वकै अन्य देशहरूमा बस्नु उनीहरूका लागि राम्रो हुनेछ,’ ट्रम्पले भने।ट्रम्पले गजामा युद्धिविराम गर्न र बन्धकहरूको रिहाइको श्रेय पनि आफूले लिएका थिए। राष्ट्रपतिमा आफ्नो आगमनपछि इसराइल र हमासलाई दबाब बढेको उनले बताए।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)




Leave a Reply

Your email address will not be published. Required fields are marked *