प्रचण्डलाई रिमालको जवाफ- शेरा दरबारमा फलेको हरियो मकै खाएको फोटो सार्वजनिक नै छ
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गा प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् । हिजो सदनमा बोल्दै प्रचण्डले शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो संलग्नता भए छानबिन गर्न चुनौती दिएका थिए । प्रचण्डले भनेका थिए, ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ ।
प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ?’प्रचण्डले आफू वाइडबडी, गिरीबन्धु, यति र ओम्नीको चर्चा नगर्ने भन्दै भनेका थिए, ‘सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरू गरौं र मबाट सुरू गरौं ।’ प्रचण्डको यो चुनौतीपछि एमालेका उपमहासचिव समेत रहेका रिमालले भनेका छन्, ‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि हैन र ?’
उनले सीआईबीको छानबिनपछि अहिले शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा रहेको बताएका छन् ।उनले प्रचण्डलाई भनेका छन्, ‘संसदमै प्रश्न उठाउनु भएकोले मात्र यति जानकारी दिएको हो है ।’
Facebook Comment