विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भन्छन् ,छोडेर आको कि केही काण्ड भएर फर्केर आएको हो
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा भवन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘संविधान जारी गरेको कुरा यो केही होइन भन्छन् । के गर्दा ठूलो कुरा हुने यहाँ ?’ उनले प्रश्न गरे, ‘काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’ उनले कामभन्दा हल्ला बढी गर्नेहरुलाई चिन्न र त्यस्ता व्यक्तिहरुको पछि नलाग्न पनि आह्वान गरे । ‘होहल्ला गर्ने पछाडिको नियत के हो ? तपाईं–हामीले त्यो पनि बुझ्नुपर्याे,’ उनले भने, ‘होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भन्छन् । छोडेर आको कि केही काण्ड भएर फर्केर आएको हो, त्यो पनि बुझ्नुपर्याे नि ।’उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूलाई चिन्न सुझाव दिए । फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै उनले नागरिकतहबाट सरकारलाई साथ दिन आग्रह गरे ।
काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिनिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको जिकिर गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने सिंहले विश्वास व्यक्त गरे ।
Facebook Comment