राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् ।प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताए ।

जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए ।उनले भने, ‘जहानियाँ शासकले सन्तानका लागि दरबार बनाए । जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, विजुली व्यापार केन्द्र र विद्यालय बनायो ।’उनले नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुननसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने बताए ।उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे ।बढ्दो जनआकांक्षा र चुनौतीबीच पनि लय मिलाएर संगतीपूर्ण रुपमा सरकार अघि बढेको उनको भनाइ छ ।उनले योजनावद्ध विकासको सुरुआत भएको बताउँदै युवा पुस्तालाई ध्यानमा राखेर स्टार्टअपद्वारा उद्यमशीलताको थालनी गरिएको बताए ।

सेवालाई पारदर्शी र जवाफदेही बनाउँदै, असमानता र भ्रष्टाचार हटाउँदै डिजिटल माध्यमबाट जनतालाई शीघ्र सेवा दिने कामको सुरु गरिएको उनले बताए ।यसले गर्दा समग्ररुपमा जनताको जीवनमा प्रगति भएको उनको दाबी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *