केपी ओली कपका निम्ति नेपाल आउँदै इटालियन लेजेन्ड बुफोन

इटालियन लेजेन्ड जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । सन् २००६ मा इटालीले विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य रहेका बुफोन ’केपी ओली कप’का निम्ति नेपाल आउन लागेका हुन् ।प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले बुफोन नेपाल आउने निश्चित भएको पुष्टि गरे ।

उनले बुफोन प्रतियोगिताका दौरान नेपाल आउने निश्चित भए पनि समय भने तय भइनसकेको बताए । “केपी ओली कपका निम्ति इटालीका बुफोन नेपाल आउँदै छन् । प्रतियोगिता सुरु हुन दुई दिनमात्र बाँकी छ, त्यसैले उद्घाटनमा आउन अहिले सम्भव देखिँदैन । तर, प्रतियोगिताका दौरान उनी उपस्थित हुनेछन्,” प्रवक्ता पौडेलले भने ।युवा संघका अर्का एक उच्च अधिकारीका अनुसार, बुफोन प्रतियोगिताको समापन समारोहमा उपस्थित हुने सम्भावना उच्च छ । बुफोनको नेपाल बसाइँ करिब एक हप्ताको हुने उनको भनाइ छ ।इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *