चीनले दक्षिण कोरियाली फिल्म, संगीतमा लगाएको प्रतिबन्ध हटाउने

चीनले दक्षिण कोरियाली फिल्म, के–पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने तयारी गरेको छ । डेडलाइन म्यागेजिनका अनुसार सम्भवतः मे महिनादेखि यसको थालनी हुनेछ ।‘ प्रतिबन्धहरू खुकुलो पार्नुले चीन ‘वुल्फ वारिअर’ कूटनीतिक नीतिबाट विश्वभर आफूविरोधी भावनालाई कम गर्ने उद्देश्यले ‘स्माइल पोलिसी’तर्फ सरेको संकेत देखिन्छ’ समाचारमा भनिएको छ ।

यस कदमलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अस्थिरताको प्रतिक्रियाको रूपमा पनि व्याख्या गर्न सकिन्छ, जसले धेरै राष्ट्रहरूमा ट्यारिफ लगाउने धम्की दिइरहेको छ, यद्यपि अमेरिकी राष्ट्रपतिको चीनप्रतिको दृष्टिकोण अझै स्पष्ट छैन ।अमेरिकी थाड मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेपछि चीनले सन् २०१६ मा कोरियाली संगीत, चलचित्र, नाटक, खेल र अन्य सबै प्रकारका पप संस्कृतिको वितरणमा प्रतिबन्ध लगाउन थालेको थियो ।बेइजिङले आधिकारिक रूपमा प्रतिबन्धलाई कहिल्यै स्वीकार गरेको छैन । थोरै कोरियाली फिल्म र नाटक चिनियाँ हल वा स्ट्रिमिङ प्लेटफर्ममा रिलिज भएका छन् । चीनले के–पप कलाकारलाई देशमा प्रदर्शन गर्न अनुमति समेत दिएको छैन ।कोरिया इकोनोमिक डेली (केईडी)का अनुसार सन् २०२६ मा चीनमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका लागि चीनको तयारीलाई सम्हाल्ने एक वरिष्ठ अधिकारीले भने, ‘चीन सरकारले दक्षिण कोरियासँगको सहकार्यलाई बलियो बनाउन आवश्यक देखेको छ ।’

‘अर्को महिनादेखि, हामी सांस्कृतिक आदानप्रदान विस्तार गर्ने पहिलो चरणको रूपमा दक्षिण कोरियामा निजी स्तरको सांस्कृतिक प्रतिनिधिमण्डल पठाउनेछौं । मे महिनामा सांस्कृतिक सहयोगलाई पूर्ण रूपमा पुनः सुरु गर्ने लक्ष्य राखेका छौं’ ती अधिकारीले केईडीलाई भने ।कोरियाको मनोरञ्जन बजार पनि प्रतिबन्धले पूर्णरुपमा प्रभावित भएको छ । केडीबी फ्युचर स्ट्राटेजी रिसर्च इन्स्टिच्युटको अध्ययनअनुसार चिनियाँ प्रतिबन्धले सन् २०१७ मा कोरियाली उद्योगलाई १५.३ बिलियन अमेरिकी डलरको क्षति पुगेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *