फेरि रेशम फिलिली र भूकम्पको संयोग, सामाजिक सञ्जालमा चर्चा

२०७२ सालको बैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ यतिबेला हलहरूमा प्रदर्शनरत छ। तर, फिल्म रिलिज र भूकम्पको संयोगले सामाजिक सञ्जालमा चर्चा बढाएको छ।शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प गएपछि फिल्म र भूकम्पको सम्बन्धलाई लिएर मजाक र ट्रोलहरू बनेका छन्।

२०७२ सालमा ‘रेशम फिलिली’ रिलिजको दोस्रो दिन नेपालमा विनाशकारी भूकम्प गएको थियो। यसपटक पनि फिल्म रिलिज र भूकम्पको संयोग जुरेपछि कलाकार केदार घिमिरेले फेसबुकमा यसबारे जिज्ञासा राखेका छन्। उनले ‘रेशम फिलिली’ र भूकम्पको सम्बन्धलाई लिएर प्रश्न उठाएका छन्।

फिल्मले महाशिवरात्रिको दिनबाट प्रदर्शन सुरु गरेको थियो। यद्यपि, फिल्मले उत्साहजनक ओपनिङ गर्न नसके पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ।नेपालीहरूको अमेरिका मोहको कथामा बनेको फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय रहेको छ। दर्शकहरूले कामेश्वर चौरसियाको अभिनयलाई बढी रुचाएका छन्।

निरोज महर्जनको निर्देशनमा तयार भएको यो फिल्मलाई ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले निर्माण गरेका छन्। फिल्मले व्यापारिक सफलताको लागि संघर्ष गरिरहेको छ भने भूकम्प र फिल्मको संयोगले यसप्रति दर्शकहरूको चासो बढाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *