तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मंगलबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण कुनै सम्भावना नरहेको जिकिर गरे ।‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ,’ खनालले भने, ‘इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’

एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताए ।‘आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन, अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ?,’ खनालको प्रश्न छ ।फरक प्रसंगमा खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाए । जसको पछिल्लो उदाहरण कही समय अघि जारी भएको अध्यादेश रहेको पनि बताए ।संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानुन बनाउने कुरामा कसैको पनि अवरोध नगरेको बताए ।‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो,’ उनले भने ।खनालले अघि थपे, ‘अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरुप कुनैपनि ऐनहरू सामान्य रुपले बनाउन सकिन्छ ।

सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन ।’प्रक्रियाकै हिसाबले पनि आफ्नो पार्टीको संसदीय दलले अध्यादेशलाई समर्थन नगर्ने उनले प्रष्ट पारे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *