नेपाल बार निर्वाचनमा विवाद : डीएलएले गर्यो निर्वाचन समितिको कार्यालय घेराउ
नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रीय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ ।
उच्च अदालत बार एशोसिएशनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो ।निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । उक्त नामवलीमा सोमबारसम्म दाबी विरोधको समय तोकिएको थियो ।उच्चले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौंले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) का अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिल अद्यावधिक गरे÷नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रुपमा काठमाडौं बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए ।
नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रुपमा काठमाडौं जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको आरोप समेत लगाए ।नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ ।
Facebook Comment