मुख्य प्रशिक्षकमा ७० भन्दा बढी आवेदन सर्टलिष्ट गर्दै क्यान
नेपाल क्रिकेट सङ्घ (क्यान)ले मुख्य प्रशिक्षक सर्टलिष्ट प्रक्रिया सुरु गरेको छ ।आवेदन मिति समाप्तिसँगै क्यानले सर्टलिष्ट प्रक्रिया अघि बढाएको हो । मुख्य प्रशिक्षकमा ७० भन्दा बढीको आवेदन परेको अध्यक्ष चतुरबहादुर चन्दले बताए । “७० भन्दा बढी नै आवेदन आएको छ । ७२ देखि ७५ बीचको सङ्ख्यामा आवेदन परेको छ,” उनले भने ।आवेदनबाट सर्टलिष्ट प्रक्रिया सुरु गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । “हामीले सर्टलिष्ट प्रक्रिया सुरु गरिसक्यौँ । सम्भवतः आज त्यस सूचीलाई अन्तिम टुङ्गोमा पु¥याउँछौँ,” उनले भने ।
क्यानले फेब्रुअरी १५ मा इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड ‘इसीबी’ वा सीए लेभल–३ को योग्यता माग्दै मुख्य प्रशिक्षकमा आवेदन खुलाएको थियो । आवेदनको म्याद २८ फेब्रुअरीमा समाप्त भएको थियो ।केही दिनअघि एउटा कार्यक्रममा सचिव खड्काले पनि नियुक्तिको प्रक्रिया पुरुष प्रधानमन्त्री कपसम्म पूरा गर्ने लक्ष्यमा क्यान रहेको बताएका थिए ।“पीएम कपको दौरान प्रशिक्षक नियुक्तिको प्रक्रिया सकिएमा खेलाडीहरुको क्षमता बुझ्ने मौका पाउनुहुन्छ । प्रतियोगिता लगत्तै अन्तर्राष्ट्रिय होम एण्ड अवे शैलीको सिरिज आयोजना गर्न हामीले प्रक्रिया सुरु गरेका छौँ । टेस्ट मान्यता प्राप्त राष्ट्रसँग पनि कुरा अन्तिम चरणमा पुगेको छ । प्रशिक्षक चाँडै आउनुहुन्छ भन्ने आशा गरेका छौँ,” खड्काले भनेका थिए ।निकै अनुभवी प्रशिक्षक तथा प्रशिक्षकका एजेन्सीले पनि आवेदन दिएको सचिव खड्काको भनाइ थियो । उनले हाइ प्रोफाइल प्रशिक्षकभन्दा पनि नेपाली क्रिकेटलाई सम्हाल्न सक्ने प्रशिक्षकको आवश्यकता रहेको बताए । “कहिलेकाहीँ नाम मात्र नभएर काम महत्वपूर्ण हुन्छ । हाइ प्रोफाइलभन्दा पनि नेपाली क्रिकेटलाई सम्हाल्न सक्ने प्रशिक्षकको अवश्यकता छ,” उनको भनाइ छ ।
प्रशिक्षकको आगमनपश्चात कोचिङ युनिट र प्लेयर्सबीचको तालमेलले नै भविष्यमा टोलीले पाउने नतिजा निर्भर हुने खड्का बताउँछन् ।राष्ट्रिय क्रिकेट टोलीको लागि अब महत्वपूर्ण खेल भनेको विश्वकप क्वालिफायर भएको उनले बताए । सीडब्ल्यूसीको वरीयतामा नेपाल अलिक तल भएकोले हरेक खेल महत्वपूर्ण भएको उनको भनाइ छ ।सबै प्रक्रिया सकेर तीन साताभित्र मुख्य प्रशिक्षक नियुक्ति हुने अध्यक्ष चन्दको दाबी छ ।
Facebook Comment