स्वकीय सचिवको आत्महत्याबारे मन्त्रीको स्पष्टीकरण- मेरो संलग्नता देखिए एक मिनेटमै राजनीति छाडिदिन्छु
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले समस्याग्रस्त सहकारीलाई मिलाउने नाउँमा आफूले कहीँकतै रकमको बार्गेनिङ गरेको प्रमाण फेला परे राजनीतिबाट एक मिनेटमा नै सन्न्यास लिने घोषणा गरेका छन् ।मन्त्रालयको १०० दिने प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले फागुन १३ गते आफ्नो स्वकीय सचिव रवि थापाको आत्महत्याको केशलाई लिएर आफूलाई पनि रकम हिनामिनाको केशमा जोड्न खोजिएको आशंका व्यक्त गरे ।
आफू सहकारी मन्त्री बनेपछि समस्यामा परेका सहकारीहरुको समस्यालाई सुल्झाउँदै बचतकर्ताको रकम फिर्ता गराउने प्रयासमा लागेकै समयमा केही गिरोहले आफ्नोसमेत नाम बदनाम गर्नेगरी काम गरिरहेको र उक्त गिरोहबाट आफू नडराएको उनको भनाइ थियो ।प्रदेश सरकारले समस्याग्रस्त सहकारीको रुपमा राखेर छानबिन अघि बढाएको सुमेरु सहकारीको ‘केश’ मिलाइदिने नाउँमा केही सहकारीको गिरोहमार्फत भएको कुराकानीको अडियो बाहिरिएपछि स्वकीय सचिवको आत्महत्या निकै दुःखद विषय भएको भन्दै मन्त्री श्रेष्ठले घटनाबारे चाँडै सत्यतथ्य जानकारी आउनेमा आफू विश्वस्त रहेको बताए ।‘मेरै जिल्लाका केही व्यक्तिले समस्याग्रस्त सहकारीको कुरा मिलाउने भन्ने विषयको अडियो आफूले पनि मिडियामा आएपछि मात्र थाहा पाएँ’, श्रेष्ठले भने, ‘त्यही घटनाले आफ्नै गाउँका भाइसमेत रहेका स्वकीय सचिवको दुःखद मृत्यु हुनु पीडाको विषय हो ।’मृतकले लेखेको ‘सुसाइड’ नोटमा समेत मन्त्री र मन्त्रालयले राम्रो काम गर्न खोज्दाखोज्दै पनि बदनाम गराउने नियतले त्यस्ता अडियो लिक भएको उल्लेख रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यस्ताखाले गिरोहलाई कानूनी कारबाहीमा ल्याएरै छाडने दाबी गरे ।
एउटा अडियो आउनासाथ जाँचविना भाइले त्यस्तो निर्णय लिन नहुने, तर घटना भैसकेको कारण अब आफूहरु उक्त घटना के कारणले भयो भन्ने विषयमा निचोडमा पुगेरै छाडने मन्त्री श्रेष्ठको भनाइ छ ।मन्त्रालयले नै समस्याग्रस्तको सूचीमा राखेर अनुसन्धान अघि बढाएको सहकारीको विषयमा त्यसरी हिसाब मिलाउने भन्ने तुकको विषय नरहेको बताउँदै उनले आफूहरु सहकारीको समस्या समाधानको लागि दिनरात लागेको देखेर ठगी खान पल्केकाहरुले बदनाम बनाउने विभिन्न योजना बनाएको बताए ।उनले बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी समस्या समाधान समितिमार्फत नियमित काम गरिरहेको बताए ।३ हजार २२३ वटा सहकारी रहेको बागमतीमा नियमित विवरण नबुझाउने सहकारीलाई कारबाहीस्वरुप जरिवाना लिने र कामलाई नियमित र व्यवस्थित गर्ने काममा आफूहरु लागेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
Facebook Comment