एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले एक लाख दिने
बारपाक सुलिकोट गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिकाका विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
मंगलबार एक सूचना जारी गर्दै ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।त्यस्तै ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने पालिकाले जनाएको छ ।यसवर्षको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन हुँदैछ । बारपाक सुलिकोट गाउँपालिकाबाट यसवर्ष नियमिततर्फ २९८ जनाले एसईई परीक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाको सूचनामा उल्लेख छ ।परीक्षाका लागि विद्यार्थीलाई मनोबल बढाउँदै थप हौसला प्रदान गर्न प्रोत्साहन रकम घोषणा गरिएको पालिका अध्यक्ष बिष्णु भट्टले बताए ।
‘गत २५ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो,’ उनले भने, ‘आगामी वर्षहरूमा पनि यो कार्यक्रमले निरन्तरता पाउँछ ।’ शिक्षाको गुणस्तर कामय गर्न पनि यसले सहयोग पुग्ने उनको अपेक्षा छ ।
Facebook Comment