संसदमा फिल्म सेन्सरसिपको विरोध, कला बुझेको सदस्य नियुक्त गर्न आग्रह
प्रतिनिधिसभा बैठकमा पनि फिल्ममा हुने ‘सेन्सरसिप’को कुरा उठेको छ । आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरे ।रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोप्रति विरोध गर्दै सांसद शाहले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर फिल्म बनाउँदा ‘राजागंज’लाई सेन्सर गरिएको कार्यको भत्र्सना गरे ।चलचित्र समाजको ऐना रहेको बताउँदै सांसद शाहले फिल्ममार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे ।चलचित्रकर्मीले अघि बढाउन खोजेको सेन्सरसिपको आन्दोलनमा आफूले ऐक्यबद्धता जनाउने पनि उनले बताए । राजनीतिक नियुक्ति पाएका सबै सेन्सर बोर्डका ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेको मान्छे नियुक्त गर्न उनले ध्यानाकर्षण गराए ।
शाहले संसदमा के भने ?
सम्मानीय सभामुख महोदय, राजा भन्ने शब्द सुन्ने वित्तिकै सरकारलाई डर लाग्छ कि के हो, जेमा पनि सेन्सर लगाइदिन्छ । यस्तै सेन्सर लगाउने काम गरेको चलचित्र ‘राजागंज’लाई । संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए नेकपा एमाले अध्यक्षले सार्वजनिकरुपमा । उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिएको छ । चलचित्र रिलिजको मुखमा अनावश्यक काँटछाँट गर्न लाउने प्रवृत्ति अहिले सेन्सर बोर्डमा देखिएको छ, जसको शिकार पछिल्लो समय ‘लाज शरणम्’, ‘राजागंज’ लगायतका चलचित्र रहेका छन् । चलचित्र समाजको ऐना हो, त्यही समाजका कुरा चलचित्रमार्फत व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ । सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका ती सबै सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेका मान्छे नियुक्ति गर्न म सरकारसँग माग गर्दछु र यसरी फिल्मको सेन्सर गरि अनावश्यक कैंची चलाउँदा सरकारको आयु पनि त्यही कैंचीले काटिएला होस गर्न पनि आग्रह गर्दछु र चलचित्रकर्मीहरूको सेन्सरसिपविरुद्धको आन्दोलनमा ऐक्यबद्धता पनि जनाउन चाहन्छु ।’
Facebook Comment