रवि लामिछानेले भने– म बोलेपछि धेरैको बोली बन्द हुनेछ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले बोल्ने समय छिट्टै आउने बताएका छन् । आफूले बोलेपछि धेरैको बोली बन्द हुने उनको भनाइ छ ।लामिछानेले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणी समेत गरे । लामिछानेले नेपालको भविष्य युवाको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गरे ।यसैबीच, रवि लामिछानेले शुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गएको माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो । फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएको थियो ।उक्त आदेश चित्त नबुझेको र त्यो बदरको माग गर्दै दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनेर लामिछानेले निवेदन दर्ता गराएका हुन् ।अब उनले चितवनको सहारा सहकारीसम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले गरेको ५४ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्र उच्चमा निवेदन दिन बाँकी छ ।
लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि हालसम्म मुद्दा दर्ता गरिएको छैन ।
Facebook Comment