जहाजैमा बनाउँदै कृषा
काठमाडौं । निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म ‘जहाजैमा’ निर्देशन गर्ने भएकी छन् । केही दिन अगाडि कृषाले जापान पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन् ।
त्यो समयमा फिल्मको नाम सार्वजनिक नभए पनि मंगलबार मात्र फिल्मको नाम औपचारिक रुपमा कृषाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
फिल्मको सार्वजनिक थिम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ ।
उज्ज्वल गुरागाईंको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ ।
सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो फिल्म भदौबाट छायांकनमा जानेछ । फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ ।
फिल्म ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।
जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ ।
एक महिनासम्म फिल्मको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।
Facebook Comment