हुम्लामा सडक पुगेपछि प्रधानमन्त्री खुशी, भन्छन्: पुरानो सपना पुरा हुँदैछ
काठमाडौं । राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी एकमात्र जिल्ला हुम्लामा सडक पुगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै हुम्लामा सडक पुर्याउने दशकौं पुरानो सपना पुरा हुन लागेकोमा खुशी व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिने उल्लेख गरेका छन् । हुम्लाको खार्पुनाथमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । यो पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी भए पनि मौसमका कारण केही पछि सरेको छ ।
हुम्ला सडक सञ्जालसँग जोडिएको खुसी साट्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौं पुरानो सपना पुरा हुँदै छ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ । ’
Facebook Comment