महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनमा
काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा महाधिवेशनको माग गर्दै नेविसंघ, तरुण दल र महिला संघका असन्तुष्ट समूहले प्रदर्शन गरेका छन्।
कांग्रेससँग जोडिएका सबै संस्थालाई गत चैतभित्र महाधिवेशन गर्न पार्टीले निर्देशन भएपनि समयभित्र नेविसंघ, तरुण दल, महिला संघले महाधिवेशन गर्न सकेका छैनन् ।
प्रदर्शनमा सहभागीहरूले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले?’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’, ‘महिला संघको मर्ममा प्रहार गर्न पाइदैन, असक्षम नेतृत्व चाहिदैन’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
तरुण दलका युवाहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तरुण दलको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन जारी रहेको छ।
पार्टीको केन्द्रीय कमिटी बैठक अगाडि उनीहरूले माग राखेका हुन्। उनीहरुले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे माग राखेका छन्। गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवेशन गर्न नसकेकाले नेतृत्व असक्षम रहेको उनीहरुको दाबी छ।
२०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटक-पटक म्याद थप्दा पनि ३-३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वत: समाप्त हुने निर्णय गरेको, तरुण दलको केन्द्रीय कार्यालय भवन केन्द्रीय समितिलाई थाहै नदिई निजी सम्पत्ति झैं गरी आफू खुसी भत्काएर कार्यलयविहीन बनाएको आरोप समेत लगाएका छन् ।
आजको बैठकले पार्टीले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको लागि एक पटकका लागि पुन: अवधि थप्ने तयारी गरेको छ।
Facebook Comment