नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक यथाशीघ्र अघि बढाउन पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउन आग्रह गरेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र नभइ सम्बन्धित समिति,सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे।

प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक रहेको उल्लेख गर्दै उनले आईकाओलगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको जानकारी दिए।

मन्त्री पाण्डेले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेकाले हवाई सेवा प्रदायक र नियमन निकायलाई अलग गर्ने विषयमा कुनै अन्यौल नरहेको बताए । उनले नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रुपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउने धारणा राखे।

समितिका सभापति राजकिशोर यादवले विधेयक महत्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदहरूलाई गम्भीरतापूर्वक छलफलमा सहभागी हुन आग्रह गरे । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *