‘मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने खुलाएका छन् ।

मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भएपनि जनतामा आत्मविश्वास जगाउन नसकिएकाले जनतामा निरासा बढ्दै गएको उनले बताए । प्राधिकरणबाट बाहिर आएपछि आफूपनि सर्वसाधारण नागरिक सरह भएको बताउँदै उनले आगामी दिनमा कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिने भन्ने बारेमा छलफलमा रहेकाले त्यो क्षेत्र राजनीति पनि हुनसक्ने उनले बताएका हुन् ।

‘जनताका समस्या सम्बोधन गर्न राम्रो लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुनसक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं,’ घिसिङले भने ।

‘विकास र समृद्धिलाई हामीले फोकस दिएर अघि बढ्नुपर्छ । मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि धेरै समय लाग्दैन । हामीसँग प्राकृतिक स्रोत छ, जनशक्ति छ, सबै चिज छ । त्यकारण देशमा ठूलो परिवर्तन ५ देखि १० वर्ष भित्र हुन सक्छ । विकास हुन्छ भन्ने विश्वास मात्रै पनि जनतालाई दिलाउन सक्यो भनेपनि त्यो ठुलो परिवर्तन हुन्छ । त्यो भनेको नेतृत्वप्रतिको विश्वास हो । देशको नेतृत्वले राम्रो गर्छ, प्रस्ट रुपले काम अघि बढाएर जनतामा विश्वास दिलाउन मात्रै सकेपनि धेरै कुरा परिर्वतन हुन्छ’, उनले भने ।

यसको अर्थ आफूले मुलुकमा सबै लिडरसिप नराम्रा छन् कसैले काम गरेकै छैन भन्न खोजेको नभइ राजनीति र सामाजिक परिवर्तन धेरै भएपनि नेपालमा आर्थिक रुपान्तरण हुन सकेन भन्न खोजेको उनले बताए । त्यसका लागि विकास गर्न सक्ने नेतृत्व आवश्यक भएको र सोहि डेडिकेसनसहित विकास निर्माणमा जानुपर्ने र द्रुत गतिमा विकास कसरी गर्ने भन्नेतिर सबैजना लाग्नुपर्ने घिसिङको धारणा छ ।

राजनीतिक परिवर्तन भन्दा पनि देशको अर्थतन्त्र रुपान्तरण कसरी गर्न सकिन्छ भन्नेतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए । त्यस्ता कुरामा ध्यान दिएर सुशासन कुराहरुमा प्रभावकारी काम गर्न सकेमा परिवर्तन हुन धेरै समय नलाग्ने घिसिङको भनाइ छ ।

‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगें सोही क्रममा लोडसेङि अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो । त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो । गर्दाखेरी हुँदो रहेछ भन्ने एउटा उदाहरण पनि हो । यो एउटा क्षेत्रको सफलता हो । अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तिको मात्रै उज्यालोले भएन,’उनले भने, ‘अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरु छन् । सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट गर्नुपर्यो । सबै जनताको मुहारलाई उज्यालो गराउनु पर्छ ।’

कमजोर सुशासन, गरिबी, समाजिक विभेद अन्त्य लगायत सबै कुराहरु सामाजिक र आर्थिक रुपान्तरणसँग जोडिएको बताउँदै उनले एउटा क्षेत्रमा मात्रै राम्रो भएर नहुने सहि मान्छे सहि ठाउँमा बसेर ‘टप टु बटम’ सबै निकायमा सही मान्छे हुनु जरुरी रहेको तर्क गरे । त्यसकारण मेरिटोक्रेसीको विषयलाई एकदमै गम्भीर रुपमा हेर्नुपर्ने उनको भनाई छ ।

‘हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्छ । किन हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौं । त्यसकारण निरासा बढ्दो छ । यी सबै कुराहरुलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं ।’

यद्यपि, अहिलेसम्म कसैसँग राजनीतिमा जाने विषयमा आफूले छलफल नचलाएको घिसिङको दाबी छ । ‘म पनि अब त सर्वसाधारण जनता भएको नाताले सबै किसिमका व्यक्ति, विज्ञ, नेतासँग छलफल गरि रहेको छु । हिजोको दिनमा जनताले जसरी माया, प्रेम र विश्वास दिनुभयो त्यहि नै मेरो उर्जा हो,’ उनले भने, ‘मैले कमाएको सामाजिक पुँजी जुन छ त्यसमा आँच आउन दिने छैन । त्यहि विश्वासलाई लिएर कसरी अघि बढ्ने भन्ने नै मेरो मुख्य प्राथमिकता हो ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *