मूल्य नपाएको भन्दै चल्ला उत्पादन र बिक्री भोलिदेखि पूर्ण बन्द
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले भोलि (सोमबार) देखि लागु हुनेगरी कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।
संघको शुक्रबारको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कलर बोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै यो निर्णय गरिएको संघले जनाएको छ ।
संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए ।
‘किसानका हितमा चल्ला उत्पादन बन्द’
नेपाल पोल्ट्री महासंघ महासचिव दिनेशराज मिश्र सबै ह्याचरीको चल्लाको बिक्री मूल्य नआएर निरन्तर घाटा खानुभन्दा उत्पादन र बिक्री रोक्ने निर्णय किसानको पक्षमा भएको बताउँछन् ।
‘अहिले बिक्री नभएर चल्ला गाड्नु परेको छ, एउटा चल्लामा ३० देखि ३५ रुपैयाँ घाटा छ,’ उनले भने, ‘साउन लागेपछि मासुको खपत त्यसै पनि कम हुन्छ, अहिले नै नबिकेका बेला उत्पादन बढाउँदै लगे किसान झन् मारमा पर्छन् ।’
पञ्चकन्या बिडिङ फर्मका सञ्चालक रविन पुरी चल्ला उत्पादन धेरै हुँदा र बिक्री नहुँदा धेरै समस्या झेल्नुपरेको बताउँछन् ।
पछिल्लो समय किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । उनका अनुसार पहिला ३ सय ५० ह्याचरी दर्ता भएकोमा अहिले ८० मात्रै दर्तामा रहेका छन् ।
‘अहिले संघले चालेको कदम एकदमै ठिक छ,’ उनले भने, ‘एक साता चल्ला निकालिएन भने कुखुरा पनि कम हुन्छन्, त्यसपछि किसानले पनि रेट पाउलान कि भन्ने आश छ ।’
पञ्चकन्या फर्मले सातामा ८० देखि ९० हजार चल्ला उत्पादन गर्ने क्षमता राख्छ । माग कम भएपछि ४० देखि ५० हजार मात्रै उत्पादन गरिएको थियो । त्यसमा पनि बिक्री नै नभएपछि खाल्डो खनेर गाड्नु परेको उनले बताए ।
पोल्ट्री क्षेत्रमा मात्रै १ खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको छ । ‘यति धेरै लगानी, रोजगारी र आत्मनिर्भर भएको व्यवसायलाई सरकारले पनि वास्ता गरेको छैन,’ उनले भने, ‘यस्तै अवस्था रहने हो भने यो व्यवसाय साँच्चै धरासायी भएर जान्छ ।’
Facebook Comment