सिटामोलको गीत र टिजर रुचाइयो
काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ निर्माण अहिले प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ ।
फिल्ममा समावेश एक गीत र टिजर सार्वजनिक भईसकेका छन् । फिल्मको ‘झुम्का कानै’मा गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढि दर्शकको साथ पाएका छन् ।
दर्शकले सिनेमाको टिजरलाई औधी रुचाएको पाइन्छ । टिजरको कमेन्टबक्समा अभिनेता सौगात मल्ल र बेनिशा हमालको केमेष्ट्री निकै जमेको प्रतिक्रिया दिएका छन् । ‘झ्यानाकुटी’पछि पुनः यो जोडीलाई पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दर्शकको छ ।
फिल्मका निर्देशक राजबहादुर साने गीत र टिजरले दर्शकमाझ पाएको प्रतिक्रियाले आगामी प्रचार सामाग्री गीत र ट्रेलर उत्कृष्ट दिनु पर्ने चुनौती थपिएको बताउँछन् । फिल्मका दुवै प्रचार सामाग्रीले दर्शकको अपेक्षा उच्च बनाएकाले अब आउने गीत र ट्रेलर अझै परिस्कृत भएर आउने विश्वास निर्माताद्धय भुगोल कार्की र विकासराज जोशीको छ ।
फिल्ममार्फत् विम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् ।
फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ ।
Facebook Comment