पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुँदा मानसरोवरका तीर्थयात्रीको बिचल्ली
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकोमा बिहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
पहिरोले सडकमा क्षति पुगेपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ । कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकोमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
भाँसिएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो । सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाकाहुँदै काठमाडौं जाने मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । यात्रुबाहक बस,साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका प्रहरीले जनाएको छ ।
सडक सम्पर्क विच्छेद भएपछि कैलाश मानसरोवरको तीर्थयात्रामा गएका विदेशी तीर्थयात्रीहरू बिच बाटोमै अलपत्र परेका छन् । रसुवाको टिमुरे–केरुङ सडक पूर्णरूपमा विच्छेद् भएपछि उनीहरूले बैकल्पिक सडकका रुपमा बुधबारबाट तातोपानीलाई प्रयोग गर्दै फर्किएका थिए ।
बाढीका कारण आवागमण सुचारु गर्न नसकिने देखिएपछि चीनले तीर्थयात्रीहरूलाई तातोपानी नाका प्रयोग गरी बुधबारबाट नेपाल फर्काउन थालिएको अध्यागमन कार्यालय तातोपानी कोदारीका प्रमुख कृष्ण खनालले जानकारी दिए । ‘तर, अहिले तातोपानी नाका नजिकै कोदारीमा ठूलो पहिरो गएपछि चीनसँग सडक सम्पर्क टुटेको छ,’खनालले भने,‘सडक मार्ग हुँदै फर्कने तीर्थयात्रीहरूलाई फर्काउन समस्या देखिएको छ ।’
बुधबार विभिन्न देशका नागारिकलाई डाइपोर्ट खुल्ला चौरबाट मनाङ एयरको ४ वटा हेलिकोप्टरबाट ७२ जनालाई र कोदारी राजमार्गहुँदै ६४ जनालाई बसमार्फत काठमाडौं पुराएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । अमेरिका,क्यानडा,आयरल्यान्ड, मलेसिया, सिंगापुरको नागरिकताधारी भारतीय मूलका नागरिक कैलाश मानसरोवर यात्रा पूरा गरेर फर्केका हुन् ।
‘सडक मार्ग हुँदै फर्कने तीर्थयात्रीहरूलाई काठमाडौंसम्म पुर्याउन बैकल्पिक तयारी सुरू गर्ने विषयमा छलफल भइरहेको छ’,खरेलले भने,‘सडकमार्गबाट सम्भव हुने नदेखिए उहाँहरूलाई हेलिकोप्टरबाट भएपनि सुरक्षित पुर्याइनेछ।’
Facebook Comment