अनुशासनको कारबाहीले कांग्रेसमा शेखर समूह रुष्ट, प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई गरेपछि अन्तरविरोध चुलिएको छ भएको छ। आज बिहान डा. शेखर कोइरालाले आफ्नो सम्पर्क कार्यलयमा बोलाएको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूका बिच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको जानकारी गराएका छन्।

कोइराला पक्ष नेताहरुको बैठकले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए। पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु आफैँमा पार्टी विधान र नियमावलीविपरीत रहेको उनको भनाई छ।

त्यस्तै घिमिरेले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने गरि पक्षपातपूर्ण र गुट प्रेरित ढंगले कारवाही भएको आरोप लगाए। यस विषयमा शेखर कोइराला लगायतका नेताहरुले सभापतिसँग कुरा गर्ने घिमिरेले बताए। उनले पार्टीभित्र प्रतिस्पर्धी समूहलाई पाखा लगाउने प्रयत्नको सालिन र सभ्य रुपबाट प्रतिवाद हुने धारणा राखे। ‘अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावलीविपरीत छ, अवैधानिक छ।’

कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने उनीहरुको निष्कर्ष छ। कारबाही विधान विपरीत र एकातर्फी भएको उनीहरुको भनाई छ। उनीहरुले राजनीतिरुपमा यसलाई सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने जनाएका छन्।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेताहरु अर्जुननरसिंह केसी,बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरू सहभागी थिए।

यता १ हप्ता लामो बसेको कांग्रेस केन्द्रीय कमिटीको बैठकमा पनि निर्वाचनका समयमा अन्तरघात गर्नेलाई अहिलेसम्म पार्टीले कुनै कारबाही नगरेको भन्ने विषय जोडतोडले उठेको थियो। अनुशासन समितिको बैठकमा निर्वाचनको बेला देशभर भएका अन्तरघातको कुरा उठेको थियो । केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ सम्म बसेको बैठकले कारबाही गर्ने निर्णय गरेको हो।

बुधबार कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेको उम्मेदवारबिरुद्ध असहयोग गरि पराजित गराउने गलत मनशायका गतिविधि गरेको भन्दै पार्टीका केही नेता तथा कार्यकर्तालाई निष्कासन र निलम्बन गरिएको निर्णय सहितको विज्ञप्ति सार्वजनिक गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *