टिजरमा जनै हराएको मान्छेः सम्बन्धका धागाहरु
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ ।
विवाहको दृश्यसँगै सुरु हुने टिजरमा फिल्मका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।
कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ ।
सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको छ टिजरमा उल्लेख छ ।
यही मेसोमा बस्ने प्रेम र त्यसको सुख टिजरमा देख्न सकिन्छ । टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ ।
भदौ ६ गते रिलिज हुने फिल्ममा हिमाल न्यौपानेको निर्देशन छ । फिल्मको असोसियट निर्देशकमा अभिनेता मनिष राउत छन् । फिल्ममा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।
Facebook Comment