मन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । उनले आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’

उनले अगाडि लेखेका छन्,‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा बिभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका थिए ।

अडियो रेकर्ड अनुसार, गत पुसरमाघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकमसमेत बुझिसकेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *