सत्तारुढकै सांसदको गुनासो मन्त्रीहरु भ्रष्टाचार र घुसमा तल्लिन हुँदा अनुहार छोपेर हिँड्न बाध्य भयौँ
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुकमा चरम ऋणमा डुबिरहेको भन्दै विजयको गर्जन गर्न लाज हुने बताएका छन् ।
सरकारका मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिनमा रहेको भन्दै उनले सांसद र नेताहरु अनुहार छोपेर हिँड्न बाध्य भएको बताए ।
‘अनुहार छोपेर हिँड्न बाध्य छौं, धेरै मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन छन्, यो मैले पहिले नै देखाएको थिएँ’, उनले भने ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले शान्ति प्रक्रिया यता मुलुकको ऋणभार ९७ अर्ब पुगेको स्मरण गरे ।
उनले भने, ‘२०६२/२०६३ पछि प्रदेशहरु विकासको इन्जिन हुनुभन्दा बोझ हुन थालेको छ, मुलुकको सार्वजनिक ऋण कूल २.६११ ट्रिलियन पुगेको छ, उनले जुन जीडीपीको ४७.७७ प्रतिशत हो, यसमा ९७ अर्ब नयाँ ऋण थपियो ।’
श्रम पलायन तीब्र भएको बताउँदै उनले मुलुकको अवस्थाले युवा शक्ति विदेश जान बाध्य भइरहेको बताए ।
‘जब हामी गर्छौं, सक्छौं भन्दै अगाडि बढ्ने प्रयास गर्छौं, धेरै यहाँ भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देख्छौं, बोल्नेको गला अवरुद्ध भएका छन्’, उनले भने ।
आजको राजनीतिक परिदृश्यमा सरकारभित्र होस् वा बाहिर, पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिएको उनको भनाइ छ ।
नयाँ दलहरुप्रति उनले इजिप्टमा प्रचलित उक्ति स्मरण गर्दै कटाक्ष गरे । उनले भने, ‘इजिप्टमा एउटा भनाइ छ, जब कुनै नयाँ राजनीतिक दलको उदय हुन्छ, त्यसमा सबभन्दा नयाँ हुनेको भनेको त्यसको लोगो मात्रै हो ।’
रास्वपाका अध्यक्ष रवि लामिछानेका विषयमा सांसद बजगाईंले सहकारी ठगीको आरोपमा अदालतको आदेशमा पुर्पक्षमा थुनामा रहेको अवस्थामा जुलुस र हस्ताक्षर अभियान चलाउनु गैरकानूनी भएको टिप्पणी गरे । उनले यस्ता गतिविधि अदालतको आदेशको अवहेलना हुने बताए ।
‘यदि कुनै पार्टी अध्यक्ष राजनीतिक कारणले जेलमा छन् वा निर्वासित छन् भने मात्र कार्यवाहक जिम्मेवारी सुम्पिनु उचित हुन्छ, तर रास्वपाका अध्यक्ष आपराधिक मुद्दामा जेलमा छन्, त्यसपछि पनि उहाँकै अध्यक्षता कायमै छ, सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दु:खद हो,’ उनले भने ।
Facebook Comment