गुन्यु चोलोः द ड्रेसको म फूल हुँ कि काँडा

काठमाडौं । फिल्म ‘गुन्यु चोलोः द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र संगीत रहेको गीतमा मनिषा पोखरेलको स्वर छ ।

गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ । गीतको भिडियोमा अभिनेता नाजिर हुसेनलाई नर्तकी बनाइएको छ । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।

समुन्द्र भट्टको निर्देशन रहेको फिल्म भदौ १३ गते रिलिज हुँदैछ । फिल्मले लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बोल्नेछ । फिल्ममा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन् ।

नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि अभिनय गरेका छन् । नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । फिल्म नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो । फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ ।

फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रचना रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *