मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ

विराटनगर । मोरङको जहदाबाट प्रहरीले बुधबार बिहान पेस्तोल बरामद गरेको छ । हतियार लुकाएर राखेको आशंकामा २ जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो । दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको उनको भनाइ छ ।

उनका अनुसार भुस राख्ने घर खानतलासी गर्दा प्लाष्टिकको बेरामा गहुँको भुसभित्र लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल बरामद गरिएको हो । प्रहरीले पेस्तोलसँगै हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद गरेको छ ।

बरामद भएको हतियार लुकाएर राखेको आशंकामा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको जानकारी डीएसपी चुँडालले दिइन् । प्रहरीका अनुसार हतियार लुकाएर राख्नेमध्ये जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुले उक्त हतियार भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । किन र कहिले ल्याएका हुन् भन्ने यकिन छैन । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने डीएसपी चुँडालले बताइन् ।

हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको पाइएको प्रहरी स्रोतले बतायो ।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले हतियार आपूर्तिको शृङ्खला र सम्भावित अपराधिक योजनाका बारेमा अनुसन्धान गरिरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *